सामाजिक संजाल र मुलधारका संचारमाध्यमबीचको भिन्नताबारे बहस जरुरी - रुपान्तरण
 २०८१ बैशाख २३, आईतबार    

सामाजिक संजाल र मुलधारका संचारमाध्यमबीचको भिन्नताबारे बहस जरुरी


काठमाडौं । सामाजिक संजाल र मुलधारका संचारमाध्यमहरुमा आएका सूचनाहरुले पाठकहरुलाई भ्रम सिर्जना गरेको एक समारोहका वक्ताहरुले धारणा राखेका छन् । व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र(सीपीजेएस)ले आयोजना गरेको ‘हाउ डु वी सरभाइभ– स्टाटस अफ जर्नालिज्म लिटरेचर एण्ड सोसल मिडिया इन नेपाल’ विषयक अन्तरक्रियामा वक्ताहरुले उक्त धारणा राखेका हुन् । प्राध्यापक अभि सुवेदीले हामीले छलफलबाट मिडियाबाट कस्तो टेक्स्ट प्रोडक्सन गर्ने भन्ने सोच्नुपर्ने बताए ।

‘यो कुरा मार्सल माक्लोहनले देखेका थिए । मिडियाका पण्डित हुन् उनी । पायनर मान्छे हुन् । उनको प्रभाव परेको हुनाले मैले मिडियाको कुरा गरेको हो । दुईटाको कन्फ्युजन हो कि फ्युजन हो ? त्यही बारे कुरा गरिहेको हुँ । उनको बारेमा धेरै पढिसकेपछि एउटा कुरा दिमागमा बसिरह्यो । उनले के भने भने मिडिया आफैँमा म्यासेज हो । अहिले यो छलफलबाट हामीले पढेका कुराहरुबाट पनि के बुझिन्छ भने मिडिया आफैँ म्यासेज हो । मिडिया यस्तो पावरफुल म्यासेज हो कि जसको पाउने लिने ग्रहण गर्ने मान्छे को हुन् भन्ने निक्र्योल गरेर खुट्याउन पनि समस्या छ । जुन मिडिया छ, त्यसको भेराइटी र विविधताहरु जुन हामीले बहस गरिरहेका छौं । त्यो सबै म्यासेज हो । उनको दृष्टिकोण अनुसार जो फर्म छ, त्यसलाई नियन्त्रण गर्न सकिँदैन । जसका अनेक धेरै ज्ञान छन् मलाई आज मूर्ख मानिस थाहा पाएजस्तो भयो । त्यो सबै म्यासेज हो । त्यसकारण हामी म्यासेजसँगै युद्ध गरिरहेका छौँ । म्यासेज प्रोडक्सन नै हो भन्ने कुरा यहाँ व्यक्त गर्दछु,’ उनले भने ।

सिपीजेएसका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार किशोर नेपालले सोसल मिडिया र ट्रेडिसनल मिडियाबीच भिन्नता हुनेभएकाले सोही अनुसरा प्रश्तुत हुनुपर्ने बताए । उनले भने,‘मिडिया सँधै प्रगतिशील हुन्छ । ट्रेडिसनल हुँदैन । अहिलेको नेपाली परिदृश्यमा सोसल मिडिया अनसोसल भयो भन्ने हो । अनसोसल त मिडिया नै होइन । सोसल मिडिया भनेर हामीलाई परिरहेको छ । हामीले यसलाई कसरी भन्नुपर्छ भने चिच्याउने, कराउने मिडिया र तर्क गर्ने मिडिया भनेर हेर्नुपर्ला । अथवा कुन तरिकाले हेर्ने, त्यो विषय प्रमुख हो ।’

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेद्र झाले सोसल मिडिया र मेनस्ट्रीम मिडियालाई एउटै बास्केटमा हालेर तुलना गर्न नमिल्ने बताए । नेपाल प्रेस काउन्सिलका बोर्ड सदस्य राम प्रसाद दाहालले व्यवसायिक पत्रकारिताको स्टेज कहाँ छ अहिले भन्ने बडो चिन्ताको विषय छ । यो व्यावसायिक पत्रकारिता छ कि छैन भनेर बहस गर्नुपर्ने बेला भएको धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य, लेखक तथा विश्लेषक अजयभद्र खनाल, अनलाइन पत्रकार संघका पूर्वअध्यक्ष केपी ढुंगाना, पत्रकार शालिक सुवेदी, जनक नेपाल, बालकृष्ण अधिकारीले आफ्नो धारणा राखे । कार्यक्रममा सिपीजेएसकी अध्यक्ष रुचि श्रेष्ठले विषयबस्तुमाथि प्रकाश पारिन भने सचिब युवराज गौतमले कार्यक्रमको सहजीकरण गरेका थिए ।