उद्योगी सौरभ ज्योतिको संगीत मोह - रुपान्तरण
 २०८१ बैशाख २२, शनिबार    

उद्योगी सौरभ ज्योतिको संगीत मोह


धेरैलाई लाग्नसक्छ ज्योति गु्रपका कार्यकारी निर्देशक सौरभ ज्योति एक व्यस्त उद्योगी व्यवसायी मात्र हुन । तर उनको परिचय व्यापार व्यवसायमा मात्र सिमित छैन । गीत संगीतमा उनको औधी रुची छ । हालै सार्वजनिक भएको उनको नयाँ गीत ‘छ–जी’ यसलाई प्रष्ट पार्छ । नेवारी भाषा र प्रेमप्रति समर्पित ‘छ–जी’को मनमोहक धुनले नेवारी भाषाको सांस्कृतिक सम्पदालाई मात्र सम्बोधन गर्दैन प्रत्येक मानवमा हुने प्रेमको चाहलाई व्यक्त गर्ने उनको भनाइ छ ।

एकवर्ष लगाएर रचिएको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । एउटा कलाकारको रुपमा उनी गीतको लेखनमा मात्र नभई रचनाको प्रत्येक चरणमा सक्रिय देखिन्छन । जसले संगीत प्रतिको उनको गहिरो प्रतिबद्धता र लगावलाई झल्काउँछ । बाल्यकालदेखि नै गीतसंगीतमा रुची राख्ने ज्योतिले आफ्नो अनुभव सुनाएका छन् ।

व्यापार व्यवसाय

व्यक्तिगत रुपले जीवन राम्रै चलिरहेको छ । तर व्यवसायिक हिसाबले अहिले मन्दी चलिरहेको छ । उद्योग व्यवसायहरुको स्थिति अलि नाजुक नै छ । फेरी व्यवसाय भनेको तलमाथी भइरहने क्षेत्र पनि हो । यति हुँदाहुुँदै पनि बिभिन्न नयाँ कामहरु शुरु गर्ने प्रयास गरिरहेका छौं । आफ्नो काम र व्यक्तिगत जीवनलाई मिलाएर लानुपर्छ भन्ने ध्येयअनुसार कामहरु भइरहेका छन् । काम भनेको सधै भईरहने कुरा हो । आफनो परिवार, साथीभाई, रुची र कामलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्छ भन्ने लाग्छ ।

गीत–संगीतमा रुची

विद्यालय पढ्दादेखि नै गीतार सिक्नेदेखि लिएर अनेक किसिमका बाध्यवादनहरु हुन्थे । मैंले विद्यालयमै गीतार सिकेको हुँ । विद्यालय पढ्दादेखि भनौं या बाल्याकलबाट नै जीवनमा गीत लेखेर गाउनुपर्छ भन्ने इच्छा थियो । अब उमेर पनि ढल्कदै छ । त्यसैले जीवनमा एउटा गीत गाउनुपर्छ भन्ने हेतुले पनि यो प्रयास गरेको हुँ । यसभित्र पनि दुई प्रकारका मान्छेहरु हुन्छन् । एउटा गाउन सक्ने मान्छे र अर्को गाउने प्रयास गर्ने मान्छे । म गाउने प्रयास गर्ने मान्छेमा पर्छु । फेरी जीवनमा आफुले चाहेको र इच्छा लागेको सबै नयाँ कुराहरु गर्नुपर्छ भन्ने लाग्छ । गीत भनेको अरुको लागि भन्दा पनि आफ्नो सन्तुष्टिको लागि गाउने हो । आफुलाई मन परेका कुराहरु व्यक्त गर्न पर्‍यो भने हामी गीत मार्फत पनि व्यक्त गर्न सक्छौ ।

‘छ–जी’ गीत

यो नेवारी गीत हो र म हुर्केको पनि नेवार समुदायमा नै हो । हामी नेवारी नै बोल्छौं । अहिलेसम्म मैंले पाएको प्रतितिक्रियाहरुमा सबैले राम्रै भन्नुभएको छ । यसको भिडियो र संगीतलाई धेरैले रुचाउनुभएको छ । तर केहीले हामीले खासै बुझेनौं भनेर पनि प्रतिक्रिया दिनुभएको छ । गीत सबै वर्गले सुन्न सक्नुहोस् भनेर हामीले गीतको अनुवाद पनि भिडियोमा राखेका छौं । समग्रमा गीतलाई धेरैले राम्रो प्रतिक्रिया आइरहेका छन् । मेरो यो समेत गरेर दुईवटा गीत सार्वजनिक भएका छन् । पहिलो गीत भुषण खरेलले लेख्नुभएको ‘मेरो देश’ थियो । जुन नेपाली गीत भयो र अहिले ‘छ–जी’ भन्ने नेवारी गीत आएको हो ।

‘मेरो देश’ र ‘छ–जी’

‘मेरो देश’ बोलको गीतमा देशभक्ति र ग्राहकहरुप्रति माया दर्शाउन खाजेका छु । ‘छ–जी’ मा भने केही भिन्न खोजेको छु । एक त यसको भाषा पनि फरक छ । गीत मायाप्रेमको बिषयमा केन्द्रीत छ । जीवन भनेको माया बिना चल्दैन । त्यसैले पनि गीतमा सबैले गर्ने मायालाई दर्शाउन खोजेको छु । यसमा देखाएको त एउटा श्रीमान र श्रीमतीको माया हो तर यो माया भनेको बुवा–आमा साथी–भाई दाजुभाई सबैले गर्ने हो भनेर गीतमार्फत व्यक्त गर्न खोजेको छु । यो मायाको भाव व्यक्त गरिएको नेवारी गीत हो ।

गीत नेवारीमा नै व्यक्त गर्नुको कारण आफैं नेवार भएर पनि हो । हामीले भाषा, संस्कृति र परम्परालाई निरन्तर रुपमा अगाडी बढाउनुपर्छ र संरक्षण गर्नुपर्छ । फेरी संगीतमा भाषा भन्ने नै हुँदैन । संगीत भनेको सुनेर मात्र भएपनि मान्छेहरु यसमा रमाउने र बुझ्ने गर्छन । बिश्वव्यापी रुपमा नै हेर्ने हो भने चर्चित स्पेनिस गीतहरु अहिले पनि चलिनै रहेका छन् । अन्य बिभिन्न भाषाका गीतहरु बिश्वव्यापी रुपमा चलेकै छन् । त्यसैले पनि यो गीत सबै वर्गले बुझ्नुहुन्छ जस्तो लाग्छ र भाषाले संगीतमा खासै फरक पर्छ जस्तो मलाई लाग्दैन ।

सांगीतिक क्षेत्रको अवस्था

म यसमा विज्ञ त होइन तर नेपालमा मैंले काम गर्न शुरु गरेका १९९९ देखि हो । त्यो बेलादेखि अहिलेसम्म हेर्दा नेपालमा जति हाम्रा कलाकारहरुको प्रस्तुति छ, मलाई लाग्छ त्यो एकदमै तारिफयोग्य छ । बिश्वव्यापी रुपमा नै हाम्रो कलाकारहरुको चर्चा हुन्छ । उहाँहरुको सीप, गायन शैलीको चर्चा हुन्छ । झन अहिले आउनु भएका नयाँ कलाकारहरु त असाध्यै राम्रो गाउनुहुन्छ । स्वरसम्राट नारायण गोपाल देखि लिएर १९७४, कुटुम्ब, नेपथ्य र अहिले आएका नयाँ गायकहरु एकदमै प्रतिभाशाली हुनुहुन्छ ।

अर्को नयाँ गीत

त्यो अहिले नै सोचेको छैन । तर बिचार गरिरहेको छु । यो भनेको भित्रैबाट आउनुपर्ने कुरा हो । खाली गीत गाउँछु भनेर मात्र पनि हुँदैन । कहिले भन्दा पनि नयाँ गीतको सोच बनाएको छु । तर कहिले जुर्छ भन्न सक्दिन ।

उद्यममा युवा

नेपालको नीति नियम ओहो भन्ने खालको नै छ । राम्रो नै छ । सरकारले केही दिन अघि मात्र स्टार्टअप सीट क्यापिटल दिने र युथले त्यसबाट चारपाँच लाख लिन सक्ने भन्ने कुरा आयो । जुन स्वागतयोग्य नै थियो । नीति नियम कागजमा जतिसुकै राम्रो भएपनि त्यसको कार्यान्वयन गर्नमा हामी चुक्छौं ।

त्यसैले जतिसुकै नीति नियम राम्रो भएपनि यदि त्यो कार्यान्वयन भएन भने त्यसले अर्थ राख्दैन । त्यसैले हामी कार्यान्वयन गराउनेतिर लाग्नुपर्छ । फेरि पैसा मात्र सबै कुरा होइन जुनसुकै क्षेत्रमा एउटा इको प्रणाली हुनुपर्‍यो । सपोर्ट प्रणाली हुनुपर्‍यो । अब युवा उद्यमीहरुको लागि सपोर्ट प्रणाली भनेको के हो भन्ने बुझ्न सक्नुपर्छ ।
मैंले तपाईंलाई १० लाख नै दिए तर त्यसबाट तपाईं सफल हुनुहुन्छ भन्ने आधार के त ? सफल हुनको लागि एउटा बजार चाहियो । बजारमात्र भएन त्यहाँ आर्थिक कारोवारका कामहरु पनि हुनुपर्‍यो । युवा भनेको रोजगारी श्रृजना गर्ने हो । रोजगारी श्रृजना भएन भने हामी फेरि द्वन्द्वकालतिर लाग्छौं ।

संसारभर द्वन्द्व निम्तने भनेकै युवाहरु बेरोजगार भएर हो । त्यसैले युवाहरुलाई हामीले रोजगारीको अवसर दिनुपर्‍यो । यसको लागि सपोर्ट प्रणालीको आवश्यक पर्छ र संगैसंगै युवाहरुलाई यसबारे बुझाउन पनि हामीले सक्नुपर्छ । फेरि यो कुनै नयाँ नौलो कुरा होइन । जे काममा पनि अनुभवी मान्छेहरु हुनुपर्छ । त्यसैले यो बुझाउने एउटा अनुभवी मान्छे भयो भने यो दुईतीन गुणा नै सफल भएर बढ्छ । यो इको प्रणाली हामीले लागु गर्नुपर्‍यो र नीतिगत सुधार ल्याउनुपर्‍यो । सरकार पनि कागजमा मात्र सिमित नभएर कार्यान्वयन नै गर्नतिर लाग्नुपर्‍यो ।

 

"

"