काठमाडौं । नेपालमा राजसंस्था हटाएर संघीय लोकतान्त्रीक गणतन्त्र ल्याउने नेता मध्यका एक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रबीचको भेटले राजनीतिक बृत्तमा राम्रै घोचपेच चलिरहेको छ ।
गणतन्त्रप्राप्ति पछिको नयाँ व्यवस्थामा सबै भन्दा बढी सत्ताभोग गरेको माओवादी र सो दलका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसँगको भेटमा राजसंस्थाप्रति भुमिगत अवस्थामै सकारात्मक देखिएको सन्देश दिन खोजेका हुन कि भन्ने आसयका टिप्पणी आइरहेका छन् ।
दश वर्षे सशस्त्र युद्धपश्चात ०६२÷०६३ को १९ दिने जनआन्दोलनको बलमा तत्कालिन विद्रोही नेकपा माओवादी र सात राजनीतिक दलले राजसंस्था हटाएर गणतन्त्र घोषण गर्दै नयाँ युगको शुरु गरेको उद्घोष गरेक थिए ।
सोही परिवर्तन र नयाँ व्यवस्थामा सबैभन्दा बढी राज्य शक्ताको उपभोग गरेका पूर्व प्रधानमन्त्री दाहाल पछिल्लो दुई महिनायता सत्ता बाहिर छन । गणतान्त्रीक व्यवस्था आएको डेढ दशक र संविधानसभाबाट संविधान जारी भएको करिव एक दशकमै वर्तमान व्यवस्थाको मसिया ठान्ने प्रचण्डले राजसंस्था पक्षधार नेता मिश्रसँग गरेको छलफलको सारांशले राजसंस्थाको पक्षमा नरम भएको टिप्पणी सार्वजनिक भएपनि उनी आफैले भने यसबारेमा धारणा सर्वजनीक गरेका छैनन् ।
राप्रपाका नेता मिश्रले गरेको एक्सट्वीट अनुसार उक्त कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले राजा ज्ञानेन्द्रले २०६२÷०६३ को आन्दोलनताका अलि नरम भइदिएको भए यस्तो परिस्थिति नआउने बताएका छन् । हिन्दुराज्यसहितको राजसंस्थाको पक्षमा वकालत गर्दै आएका नेता मिश्रले खुमलटारस्थित दाहाल निवासमा पुगेर गरेको संवादको तस्वीर सार्वजनीक गरेका थिए ।
उक्त संवादपछि मिश्रले एक्स मार्फत ‘प्रचण्डसँग मनका कुरा !’ शिर्षक दिएर दुई नेताबीच भएको संवादको सारांश लेखेका छन् । वर्षौपछि प्रचण्ड निवासमा भेट भएको बताउँदै मिश्रले आफूले राजसंस्था पुनस्र्थापित गरेर देशलाई जोगाउनुपर्ने धारणा राखेको उल्लेख छ । ‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनस्र्थापित नगर्ने हो भने ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ, र त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन । लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।’
मिश्रका अनुसार प्रचण्डले यसबारे ७ बुँदामा जवाफ दिएका छन् । अध्यक्ष दाहालले नेपालका उद्योगधन्दाहरूको सबै विवरण हेर्दा पञ्चायतकालमा धेरै राम्रो काम भएको, महेन्द्र ‘भिजनरी’ राजा रहेको, वर्तमान परिस्थितिको निरन्तरताले देश नचल्ने निष्कर्षमा पुगिसकेको , सशस्त्र संघर्षका बेला आफूले राजासँग मिलेरै जान चाहेको, राजा ज्ञानेन्द्रले २०६२÷०६३ को आन्दोलनताका अलिक नरम भइदिएको परिस्थिति फरक हुने र अब निरन्तरताको क्रमभंग चाहिएको बताएको मिश्रले पुष्टि गरेका छन् ।
राजसंस्था र हिन्दुराज्यको विषयमा उच्चारण गर्नेमाथि निरन्तर जाइलाग्ने प्रचण्डको पछिल्लो अभिव्यक्तिले राजनीतिक रुपमा तरंग ल्याएको छ । सत्ता राजनीतिको केन्द्रमा घुमिरहँने दाहाललाई गत असार १७ को राती संसदका ठूला दुई दल कांग्रेस–एमालेबीच सत्ता सहकार्यको सहमतिले झस्का दिएको थियो ।
दुई दलको सहमति कार्यन्वायन गर्दै असार ३० मा संसदको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै आगामी निर्वाचनसम्म सत्तामा जाने बाटो बन्द भएको दाहालले महसुस गरेका छन् । संसदमा ३२ सिटसहित तेस्रो दल बनेको माओवादीले पहिलो र दोस्रो दल कांग्रेस–एमालेलाई सत्ता गठबन्धन फेर बदलमा दुई–दुई पटक धोका दिएको थियो ।
डेढ वर्षमा चार पटक सत्तासमिकरण परिवर्तन गर्दै राजनीतिक अस्थिरतामा रमाएका दाहाललाई साइजमा राख्दै राजनीतिक स्थिरता, संविधान संशोधन, भ्रष्टाचार न्युनिकरण, विकास र समृद्धिसहितका सात बुँदे सहमति गरेका कांग्रेस–एमाले अहिले सत्ता सहयात्रामा छन् ।
ठूला दुई दलको सत्ता सहकार्यप्रति माओवादी, रास्वपा, राप्रपासहित केह िदलहरु असन्तुष्ट छन् । प्रतिपक्षमा रहेका ती दलहरुबीच सरकारप्रति खरो उत्रने सहमति समेत भएको थियो । राप्रपाका नेता मिश्रसँगको मंगलबारको भेटपछि माओवादी अध्यक्ष दाहाल थप बहकाउदै पुरानै (राजसंस्था) व्यवस्थाप्रति नरम हुनखोजेका हो की भन्ने शंसय उत्पन्न भएको राजनीतिक विश्लेषकहरुले समेत बताएका छन् ।
दाहाल र मिश्रबीचको संवाद सार्वजनीक भएलगत्तै प्रचण्डका युद्धकालिन सहयात्री पूर्व प्रधनमन्त्री डा बाबुराम भट्टराईले प्रचण्डप्रति खरो टिप्पणी गरेका छन् । नेपाल समाजवादी पार्टीका संयोजक समेत रहेका भट्टराईले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत् भनेका छन ‘माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले बिरालो म्याउँ गरेकै हो, किनकि प्रचण्डको वास्तविकता त्यही हो ।’
युद्धताका माओादीभित्र भट्टराईले संसदवादी दलसँग मिलेर राजतन्त्रविरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने र प्रचण्डले राजतन्त्रसँग मिलेर संसदवादी विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्ने लाइनका पक्षमा वकालत हुने गरेको माओवादी नेताहरूले बताएका छन् ।
यहीक्रममा तत्कालीन संस्थापन अर्थात् प्रचण्ड पक्षलाई राजापरस्तको आरोप लाग्ने गरेको थियो । मंगलबार बिहानको भेटमा मिश्रले प्रचण्डको भनाइ उद्धृत गर्दै भनेका छन्, ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पूरै नकारात्मक थिए, म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।’
मिश्रले सार्वजनीक गरेका ‘प्रचण्ड’का सात टिप्पणी
१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु ।
२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ’भिजनरी’ राजा रहेछन्।
३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।
४. राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।
५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।
६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।
७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ’निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।