कुन-कुन अवस्थामा ज्येष्ठ नागरिकले खोप नलगाउने ? - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

कुन-कुन अवस्थामा ज्येष्ठ नागरिकले खोप नलगाउने ?


काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको छ । नेपालमा हालसम्म प्रति एक हजारमा १४ जनाले खोप प्राप्त गरेका छन् । विश्वमा भने यो दर प्रति एक हजारमा ३७ जनाले खोप प्राप्त गरिरहेका छन् ।

विश्वभर हालसम्म २८१ मिलियन मानिसले खोप प्राप्त गरिसकेका छन् । कोरोना भाइरस विरुद्धको खोप उच्च रक्तचाप, मधुमेह, थाइराइड लगायतका समस्या भएका व्यक्तिलाई सुरक्षित मानिएको छ । विभिन्न रोगको औषधि खाने व्यक्तिलाई पनि यो खोप सुरक्षित मानिएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाकाले खोप आफ्नै लागि लगाउने हो त्यसैले पनि मनमा कुनै द्विविधा नराखीकनै खोप लगाउनुहुन अनुरोध गरेका छन् । यस बाहेक ज्येष्ठ नागरिकले विभिन्न अवस्थामा खोप लगाउनु हुँदैन वा विशेष सतर्कता अपनाउनु जरुरी छ ।

जस्तै, कुनै खोप, औषधि, खाना आदिको एलर्जी भएका व्यक्ति, स्टेरोइड वर्गका हाइ डोज औषधि सेवन गरेका व्यक्ति, हृदयाघात भएर वा मुटुको समस्या भएर रगत पातलो बनाउने मल्टिपल औषधि सेवन गरेका व्यक्तिलाई खोप लगाउन सिफारिस गरिदैँन वा लगाउनका लागि स्वास्थ्य विज्ञको परामर्श आवश्यक पर्छ ।

मस्तिष्कको रोग भएका वा स्नायू सम्बन्धि स्वास्थ्य समस्या भएका, सिकल सेल एनेमिया, प्लेटलेट्सको कमी, रक्तश्राव भइरहने वा रगत जम्ने प्रक्रियामा खराबी भएका तथा एकपटक गम्भीर कोभिड १९ लागेर थला परेका व्यक्तिलाई पनि खोप लगाउँदा सावधानी अपनाउनुपर्छ ।

३ महिनायता अप्रेसन गरेका व्यक्ति, सिकिस्त बिरामी , ८० वर्षभन्दा माथिका अशक्त दीर्घरोगी, गम्भीर मानसिक स्वास्थ्य समस्या भएका तथा २ महिना यता हेपाटाइटिस बी लगायतका खोप लगाएका व्यक्तिलाई पनि खोप लगाउनुअघि आफ्नो रेगुलर स्वास्थ्य विज्ञसंग सल्लाह गर्न सिफारिस गरिन्छ । हाल रुघाखोकी, ज्वरो, सास फेर्न गाह्रो भएका र कोरोना निको भएको २८ दिन नपुगेका व्यक्तिले खोप लगाउनु उचित मानिदैँन ।
क्यान्सरको उपचार गराइरहेका बिरामी, एचआइभी संक्रमित जसले कडा खालका औषधी सेवन गरिरहेका व्यक्ति, मिर्गौला तथा बोन म्यारो प्रत्यारोपण गरेका व्यक्ति,

गम्भीर दम भएका व्यक्ति, डाउन सिन्ड्रोम भएका व्यक्ति र थाल्सेमिया वा बाथ भएका व्यक्तिलाई पनि खोप नलगाउन तथा लगाउनु परे स्वास्थ्य विज्ञसँग परामर्श गरेर मात्रै खोप लगाउन अनुरोध छ । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । झोलिलो खाने, ज्वरो आए वा शरीर दुःखे पारासिटामोल खाने तथा केही गाह्रो भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ । र आफूले सेवन गर्दै आएका औषधी पनि नियमित रुपमा सेवन गर्नुपर्छ ।