किशोर नेपाललाई कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार - रुपान्तरण
 २०७९ जेठ २, सोमबार    

किशोर नेपाललाई कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार


काठमाडौं । रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ ।क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो ।

आइतबार बसेको क्लबको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको छ। उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । किसुनजीको नाममा क्लबले आजमात्रै उक्त पुरस्कारको स्थापना गरेको हो । उक्त पुरस्कार क्लबको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट वितरण गरिने क्लबका सभापति ऋषि धमलाले जनाए ।

पत्रकार नेपाल नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहेर महत्वपूर्ण भू्मिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । उनीसँग सन्त नेता भट्टराईको प्रेस सल्लाहकारको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी वहन गरेको ईतिहास छ । पत्रकार नेपाल नेपालको मूलधारका मिडियामा नेतृत्वदायी भूमिका रहेर काम गरिसकेको र नेपाल पत्रकार महासंघको अध्यक्षसमेत भैसकेको व्यक्तित्व हुन् । उनका विभिन्न पुस्तकसमेत प्रकाशन भैसकेका छन् ।