निर्वाचन आयोग सत्ता गठबन्धनसँग साँठगाँठमा काम गर्दैछ - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

निर्वाचन आयोग सत्ता गठबन्धनसँग साँठगाँठमा काम गर्दैछ


काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारमाथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ ।

निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णय गरिएकोमा आपत्ति रहेको एमालेको भनाइ छ । वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरुसँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिवर्तन र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको उसको ठहर छ ।

बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाए । उनले सत्तापक्षीय दललाई फाइदा पुग्ने गरी आयोगले काम गरिरहेको बताए ।

विगतमा पनि आफुहरु निर्वाचन आयोगबाट पीडित बनेको भन्दै अध्यक्ष ओलीले आयोगको निर्णयको विरोध गर्नुपर्ने बताए । साधनस्रोत नहुँदा उम्मेदवारी दर्ताका लागि १ दिनमात्रै समय दिने गरेको स्मरण गराउँदै उनले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको आरोप लगाए । आफूहरु निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहेको भन्दै अध्यक्ष ओलीले बेठीक काम गरेर अगाडि बढिरहनु खेदजनक रहेको टिप्पणी गरे ।