नेपालको अवस्था श्रीलंकाकोजस्तो हुनसक्छ - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

नेपालको अवस्था श्रीलंकाकोजस्तो हुनसक्छ


काठमाडौं । नेपालको अवस्था श्रीलंकाजस्तो स्थितिमा नरहे पनि आउन सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्केत गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने,‘श्रीलंकाजस्तो डरलाग्दो स्थिति भयो भन्ने त होइन, भोलि अप्ठ्यारो स्थिति आउन सक्छ । अहिले नै समाधानको लागि पहल शुरु भैसकेको छ । उपाय निकाल्छौँ ।’

पछिल्लो समय श्रीलंका चरम आर्थिक सङ्कटको अवस्थामा रहेको छ । श्रीलंकामा महँगी १७ प्रतिशतले बढेको छ । ग्यास, औषधि, इन्धनलगायतका अत्यावश्यक सामानको अभाव बढेको छ ।

प्रचण्डले मुलुकको संकटमोचनको लागि आफ्नो पार्टीले जहिले पनि महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरे । उनले भने,‘देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ । तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रूपमा स्वीकार नगरेको स्थिति छ । संविधान, गणतन्त्र, समावेशिताको रक्षा गर्ने चाहिँ माओवादी केन्द्र नै हो भन्ने जनताको बुझाई छ । यो मेरो अहङ्कार होइन ।’

आगामी तीनै तहको निर्वाचनमा गठबन्धन हुने बताए। उनले भने,‘गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो । संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाएका हौँ । कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ। अब कुनै द्विविधा छैन । निर्वाचन शान्तिपूर्ण हुन्छ। निष्पक्ष हुन्छ ।’