भारत भ्रमणमा देउवा, ‘एक विशेष मित्र’को संज्ञा - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

भारत भ्रमणमा देउवा, ‘एक विशेष मित्र’को संज्ञा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतमा उनलाई भव्य स्वागत पनि गरिएको छ । तीन दिनको भ्रमणका लागि शुक्रबार भारत गएका देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगे ।

देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय गएका हुन् । पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए । ५० सदस्य टोलीका साथ भारत गएका प्रधानमन्त्रीको टोलीले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका देउवालाई स्वागतका लागि केही दिनदेखि नै भारत सरकारले तयारी गरेको थियो । विभिन्न स्थानमा प्रधानमन्त्री देउवाको तस्बिर समेटेर स्वागत देखिएका ब्यानर, तुल, होडिङ बोर्ड, पम्प्लेट टाँसिएको छ । पत्रिकाहरुमा विज्ञापनसमेत छापिएको छ । तीन दिने औपचारिक भ्रमणका शिलशिलामा देउवा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत गएका हुन् ।

देउवालाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ‘भारतको एक विशेष मित्र’ भएको बताएका छन् । उनले स्वागत गरेको भिडियो सामाजिक सञ्जाल ट्वीटरमा सेयर गर्दै सो सम्बोधन गरेका हुन् । ‘एक विशेष मित्रको भव्य स्वागत,’ भारतीय रक्षा तथा पर्यटन सहायकमन्त्री अजय भट्टले स्वागत गरेको १८ सेकेण्डको भिडियो ट्वीटरमा राखी बागचीले लेखेका छन् ।