प्रधानमन्त्री देउवा चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ छ - रुपान्तरण
 २०८१ बैशाख ३०, आईतबार    

प्रधानमन्त्री देउवा चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ छ


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।

अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीजी चुनावको बेला भारत जानुभएको छ, किन जानुभयो होला ? आएपछि सोध्नुपर्ला ।’ ओलीले तत्कालीन नेपाली कांग्रेसले भारतीय सेनालाई नेपाल भित्र्याएर देशभक्तहरूको टाउको कटाएको आरोप पनि लगाए ।

तत्कालीन कांग्रेस सरकारले भीमदत्त पन्त लगायत सहिदहरूको हत्या गरेको उनको जिकिर थियो । साथै विद्यार्थी आन्दोलन दबाउन बीपी कोइराला गृहमन्त्री छँदा दमन गरेको र गोली हानेको भन्दै उनले कांग्रेसले विदेशी सेनाको प्रयोग गरी देशभक्तहरूको हत्या गरेको आरोप लगाएका हुन् ।

आफूले दैनिक चारवटा कार्यक्रममा भ्याउने गरेको बताउँदै ओलीले युवाहरू अझै सक्रिय हुनुपर्नेमा जोड दिए । ‘युवाहरूले मेरोभन्दा बढी सक्रिय हुनुपर्छ । एमालेलाई बलियो पार्टी बनाउनुपर्ने अब युवाहरूको हातमा छ,’ ओलीले भने ।

एमालेको हरुवा बानी नभएको भन्दै उनले आफूहरूले जितेर देश बनाउने दाबी गरे । सामाजिक अभियान्ताको जागरण ल्याउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि हरेक व्यक्तिमा वैज्ञानिक चेत आवश्यक रहेको बताए । माधव नेपालको जसरी एमालेलाई न भाले न पोथीको अवस्थामा पुर्‍याउने छुट अब कसैलाई नरहेको ओलीले बताए ।