‘क्लोज–अप’मा नेपाली चलचित्रको अन्तरकुन्तर - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

‘क्लोज–अप’मा नेपाली चलचित्रको अन्तरकुन्तर


नेपाली चलचित्र र त्यसमा आबद्ध कलाकारहरुका बारेमा मिडियामा सतही मात्र जानकारी आउँछ । नेपाली चलचित्र उद्योग र यसको इतिहासका बारेमा गहन खोज भएको पाइँदैन । चलचित्रको अन्तरबस्तु, यसका पात्र र प्रबृत्ति, कलाकारको नालीबेली, विश्वमा छरिएका नेपालीभाषी कलाकारको अवस्था र सम्बन्धका बारेमा अहिलेसम्म गहन खोज, अनुसन्धान र तथ्यहरु भेटाउन मुस्किल छ । त्यतिमात्र होइन नेपाली सिने उद्योगमा कपाल फुलाएका व्यक्तिहरुबाट पनि नेपाली चलचित्र इतिहासको परिपक्व जवाफ आउँदैन । नेपाली समाज मात्र होइन सिंगो अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगटेको चलचित्र क्षेत्रको योगदानका बारेमा कमैमात्र लेखिने गर्छ । पर्दा अगाडि र पछाडिका कलाकारको संघर्षका कथाहरु गहन रुपले शब्दमा उतारिएको पाइँदैन । यो दुखद पक्ष हो ।

डेढ दशकदेखि मनोरञ्जन क्षेत्रमा कलम दौडाइरहेका संचारकर्मी जीवन पराजुलीले एउटा महत्वपूर्ण हिम्मत गरेका छन् । उनको मेहेनत र कलमको सिल्पी ‘क्लोज–अप’मार्फत ब्यक्त भएका छन् । नेपाली सिने क्षेत्रको अन्तरकुन्तरका कुराहरु केलाएर कमैमात्र पुस्तकहरु प्रकाशित भइरहेको परिप्रेक्ष्यमा जीवनले राम्रो कोसेली पाठकहरुका निम्ती समर्पित गरेका छन् । पर्वत जिल्लाको ढुंगामाटोसँग खेलेका, हावापानीमा रमाएका र समाज बुझ्ने मौका पाएका जीवनले पुस्तकमा आफू बाल्यकाल छँदा चलचित्र हेर्नका लागि बढेको हुटहुटीका बारेमा मजाले प्रष्ट्याएका छन् । गाउँघरमा टेलिभिजनका पर्दामा भिसिटी ल्याएर चलचित्र हेर्ने गरेको, गुल्मीको पुर्तिघाट बजारको हाइभिजन हलमा चलचित्र प्रदर्शन भइरहँदा माइकबाट सुन्ने गरेको प्रसंगले उनीप्रति चलचित्र हेर्ने तिर्खा अत्यासलाग्दो रहेको बुझ्न सकिन्छ ।

चलचित्र हेरेर मनोरन्जन लिनेमात्र होइन व्यक्त कथाबस्तु र कलाकारको अभिनयलाई सुक्ष्म रुपमा केलाउन कलम समाउन पुगेका जीवनले ‘क्लोज–अप’मार्फत दमदार प्रश्तुती दिएका छन् । चलचित्रका देखिएका पात्रलाई प्रत्यक्ष भेटेर र संवाद गरेर उनले आफ्नो चलचित्रप्रतिको क्रेजलाई अभिव्यक्त गरेका छन् । उनको धैर्यता, मेहेनत र लेखन सिल्पी तारिफगोग्य बनेको छ । चलचित्रको इतिहास, पात्र, प्रबृत्ति, उद्योग, व्यापार, सामाजिक–सांस्कृति सम्बन्ध आदी प्रसंग पुस्तकले बोलेको छ । नेपालको राजनीति, समाज, दर्शन संस्कृतिका बारेमा सयौं पुस्तकहरु प्रकाशित भइरहँदा चलचित्र क्षेत्र ओझेल परिरहेको अवस्थामा पुस्तक प्रतिनिधिका रुपमा आएको छ । यो एउटा खँदिलो खुराक वा सामग्री बनेर आएको भान हुन्छ ।

चलचित्र क्षेत्रसँग सम्बन्ध राख्ने विभिन्न ५६ जनासँग संवाद गरेर उनीहरुको कथाबस्तु पुस्तकमा समेटिएको छ । यादव खरेल र चेतन कार्कीको अनुभव, उनीहरुले बुझेको नेपाली चलचित्र क्षेत्र र संघर्षको पाटोले इतिहास बुझ्न सहज भएको छ । चलचित्रप्रति राजा महाराजाको सम्बन्ध, नियमनकारी निकायको भूमिका, २०२७ सालअघि तिरै स्थापना भएको शाही नेपाली चलचित्र संस्थानदेखि चलचित्र विकास बोर्डको भूमिकाका बारेमा यादव खरेलको अनुभव खोज अनुसन्धानदाताहरुका लागि गहकिलो सामग्री बन्न सक्छ । ‘नेपाली चलचित्रका जीवन्त साक्षी’का रुपमा चेतन कार्कीको अनुभव पुस्तकमा समेटिएको छ । जसमा चलचित्र क्षेत्रलाई सरकारले गरेको प्रवद्र्धनदेखि अकुंशको प्रसंग र कार्कीको योगदानका बारेमा पुस्तक बोलेको छ ।

नेपालीहरुको मन मनमा बसेको कलाकार राजेश हमालको संघर्षको कथा निकै घतलाग्दो छ । ‘राजेश हमालः युगदेखि युगसम्म’ शिर्षकमा हमालको ‘राम कहानी’पढ्न पाइन्छ । जसमा करिश्मा मानन्धरको आगमनको प्रसंगलाई झनै रमाइलोसँग उठान गरिएको छ । किनकी चलचित्रको पर्दामा करिश्मा र राजेशको जोडीलाई युगौंसम्म दर्शकहरुले स्मरण गरिरहेका छन् । उनीहरुको अभिनय हिजोआज पनि निकै तारिफ हुनेगर्छ । राजेशसँगको प्रसंगमा दयाराम दाहाल, राजेन्द्र शलभ, नारायण पूरीजस्ता निर्देशक निर्माताहरुको भूमिकालाई पुस्तकले सम्मान गरेको छ । विभिन्न चलचित्रमा हमालले प्रयोग गरेको डायलगलाई रमाइलोसँग प्रश्तुत गरिएको छ ।

नेपाली चलचित्र र नेपाल–भारत सम्बन्ध, नेपालीभाषी कलाकार साथै उनीहरुको योगदानलाई लेखक पराजुलीले गज्जबले उठान गरेर सहहृदयका साथ सम्मान गरेका छन् । वास्तवमा दार्जिलिङ, सिक्किम, देहेरादुन, आसाम, डुवर्सलगायत अन्य डायस्पोरामा नेपाली चलचित्रप्रतिको क्रेज र कलाकारहरुको प्रवेशलाई ‘भारतबाट नेपाली चलचित्रः सीमानाले अलग, भाषा र सिर्जनाले नजिक’ शिर्षकमा प्रताप सुब्बा, तुलसी घिमिरे, रनजीत गजमेरदेखि पुस्पन प्रधान र पवन चाम्लिङलाई समेतलाई स्मरण गरिएको छ । उनीहरुको भूमिकालाई मार्मिक साथै रमाइलोसँग उतारिएको छ ।

नेपाली चलचित्रका आयाम र पात्रहरु समेटिएको ‘क्लोज–अप’ वास्तवमा समावेशी र समानुपातिक रुपमा प्रश्तुत भएको अनुभुत पनि हुन्छ । चलचित्र क्षेत्रमा न्यून संख्यामा महिलाहरु छन् । उनीहरुको भूमिका घतलाग्दो भएपनि प्रभावमा छैनन् । पुरुष हाबी भएजस्तो लाग्छ । तर लेखकले ‘साँघुरो छ आधा आकाश’ शिर्षकमा १३ जना चलचित्रकर्मीको अनुभव उतारेका छन् । महिला निर्देशक, निर्माता आदीको दुःखसुख पुस्तकमा पढ्न पाइन्छ । त्यसका अलावा चलचित्र हेर्दाहेर्दै बुझेका र कलमको सहारामा सूचना प्रवाह गरिरहेका संचारकर्मी वा समिक्षकहरुको योगदान र संघर्षको पाटोलाई लेखकले टपक्कै टिमेर पुस्तकमा स्पेस दिएका छन् । को आफ्ना, को पराइ नभनीकन लेख्दालेख्दै चलचित्र निर्देशन र निर्माणमा जुटेका संचारकर्मीहरुलाई पुस्तकमा समेटिएको छ । जसलाई ‘चलचित्र निर्देशनमा चौथो अंग शिर्षक दिएर बीबीसीको जागिर नै छाडेर सिनेमामा आएका यादव खरेलदेखि भुषण दाहाल, दिनेश डिसीदेखि मनोज पण्डित जस्ता २७ जना संचारकर्मी र समिक्षकको अनुभवलाई अक्षरमा उतारिएको छ । नेपालमै जन्मिएर पनि दार्जिलिङ–कालिम्पुङको भनिएका शम्भु प्रधानको खुलाशा पनि पुस्तकमा छापिएको छ ।

समेटिएका सामग्रीहरुलाई विभिन्न खण्ड खण्ड विभाजन गरेर प्रकाशित पुस्तक ३५८ पृष्ठ लामो छ । भाषा त्यस्तो उत्पात लाग्ने छैन । सरल भाषा छ । लेखकले सामग्री संकलनमा मेहेनत गरेपनि भाषा र शब्द चयनमा त्यति मेहेनत गरेका छैनन् । समाचार, लेख र अन्तरवार्तामा मात्रै अल्झिरहनुपरेको विवशतालाई लेखकले पुस्तकाकार दिन खोजेको बुझ्न गारो छैन । समाचार वा लेख नै लेख्न बस्नेहरुका लागि सन्दर्भ सामग्री पुस्तकभित्र प्रशस्त भेट्न सकिन्छ । चलचित्रका विभिन्न आयाम र विधाहरु पनि लेखिनुपर्छ भन्ने सन्देश पुस्तकले बोकेको छ ।

काम गर्दा केही त्रुटीहरु अवश्य हुन्छन् । पुस्तक पढ्दै गएपछि पाठकहरुले त्रुटी औल्याउन सक्ने प्रशस्त आधारहरु पनि छन् । तथ्यहरु दाँयाँबाँया भएको पाउन सक्छन् । यद्यपी, नेपाली चलचित्र क्षेत्रभित्र पनि प्रशस्त लेखनयोग्य खुराक पाउन सकिन्छ भन्ने कुराको ज्ञान पुस्तक पढिसकेपछि बुझन सकिन्छ । फिल्मका पारखी, लेखन र पठन संस्कृतिमा रमाउने व्यक्ति, नेपाली चलचित्र बुझ्न चाहने अध्येता, चलचित्र उद्योगमा प्रवेश गर्न चाहने उद्योगी, सिने पत्रकारिता गर्न खोजिरहेका संचारकर्मी वा जोसुकै व्यक्तिहरुका लागि ‘क्लोज–अप’ गतिलो खुराक हो । माध्यम हो ।
पुस्तक :क्लोज–अप
लेखक : जीवन पराजुली
सम्पादकः दीपेन्द्र लामा
प्रकाशक : ठूलोपर्दा मिडिया प्रा.लि.
मूल्य : ५९९।–