आत्मरक्षा तालिम लिदैं रुकुमका किशोरी - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

आत्मरक्षा तालिम लिदैं रुकुमका किशोरी


रुकुम पूर्व । रुकुम पूर्वका किशोरीहरुलाई आत्मरक्षा तालिम दिएर शसक्त बनाउन लागिएको छ । शारीरिक खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने सीपको विकास गर्न र किशोरीहरुको आत्मरक्षामा बृद्धि गर्न तालिम दिन थालिएको हो ।

लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आर्थिक सहयोगमा जिल्लाका विभिन्न चारवटा विद्यालयमा अध्यनरत किशोरीहलाई तालिम दिन थालिएको हो । तालिममा ११ देखि १९ वर्ष उमेरका किशोरीहरु तालिमरत छन् । फागुन १४ गतेबाट सुरु भएको उक्त तालिम अन्तर्गत किशोरीहरुलाई तेक्वान्दो पनि सिकाईने छ ।

सदरमुकाम आसपासका चार सामुदायीक विद्यालयमा अध्यनरत १ सय २२ जना किशोरीहरुलाई तालिम दिन लागिएको सामाजिक विकास डिभिजन कार्यालयको रुकुम पूर्वका प्रशिक्षक भद्रवहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार सिस्ने गाउँपालिका वडा नम्वर ५ को रुक्मिणी मावि रुकुमकोट र कोट मावि रुमालवारा, वडा नम्वर ६ को त्रिभुवन जनता मावि छिप्रिदह र वडा नम्वर ३ को जनता मावि पोखराका किशोरीहरुले आत्मरक्षा तालिम लिइरहेकाछन । किशोरीहरुलाई शारीरिक रुपमा बलियो बनाउन तालिम दिन लागिएको प्रशिक्षक खड्काको भनाई छ ।

किशोरीहरुलाई आपतकालिन अवस्थामा आत्मरक्षा गर्न सक्षम बनाउने यो तालिमको मुख्य उद्धेश्य भएको प्रशिक्षक खड्काले बताए ।

किशोरीहरुलाई कमजोर आँक्ने र उनिहरुमाथि विभिन्न प्रकारका दुव्र्यवहार हुने गरेकामा तालिमले यसमा कमि ल्याउने अपेक्षा समेत राखिएको छ । यसका अतिरिक्त बिहानको फुर्सदको समयको उचित उपयोग, स्वस्थ बनाउन र अनुशासन कला सिकाउन तालिमले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

यो तालिम तीन महिनासम्म संचालन हुनेछ । हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म यो तालिम सिस्ने गाउँपालिका वडा नम्वर ५ मा अवस्थित रुक्मिणी माविमा संचालन भईरहेको छ ।