प्रचण्ड र माधवरहितको बाम एकता ! - रुपान्तरण
 २०८१ बैशाख २९, शनिबार    

प्रचण्ड र माधवरहितको बाम एकता !


काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन अगाडि कम्युनिष्ट पार्टीहरुबीच एकताको चर्चा चुलिएको छ । चुनावी गठबन्धन र बाम एकताबारे चर्चा चुलिए पनि त्यसले सार्थकता पाउने संकेत न्यून छ । चैत्र दोस्रो साता चिनियाँ परराष्ट्रमन्त्री एवं राज्य परिषद्का सदस्य वाङको नेपाल भ्रमणकै क्रममा पनि बाम एकताको चर्चा थियो । तर त्यसका बारेमा संघन बहस भने भएको छैन ।

च‍िनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमलाई मुख्यतः कम्युनिष्ट एकता, निर्वाचनमा गठबन्धनजस्ता विषयसँग जोडेर हेरिएको भए पनि त्यसले कुनै सार्थकता पाउन सकेको छैन । सोहीबेला एमालेको पोलिटब्युरो कमिटी बैठकमा नेता घनश्याम भूसालले कम्युनिष्ट पार्टीबीच एकताको कुरा उठाएका थिए । उनले कम्युनिष्ट एकता हुनुपर्ने तीन कारण पनि खुलाएका थिए ।

एमाले वाम एकताको प्रमुख स्रोत भएको, कम्युनिष्ट पार्टी विभाजन हुनुपर्ने वैचारिक र सैद्धान्तिक कारण नभएको र आगामी निर्वाचनमा विजयी हुने सुनिश्चितताका वाम पार्टीबीच एकता हुनुपर्ने नेता भुसाले तर्क अघि सारेका थिए । तर एकताको संभावना क्षिण देखिएको छ । किनकी २०७४ सालको संघीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दै निर्वाचनमा बहुमत ल्याएका थिए। पछि यी दलले ३ जेठ २०७५ मा एकता गरेका थिए। तर, एकता लामो समय टिक्न सकेन। बहुमत प्राप्त नेकपा सरकार ढल्यो भने संसद्मा दोस्रो ठूलो दलका रूपमा रहेको कांग्रेसले सरकार चलाइरहेको छ ।

पछिल्लो समय बाम एकताको बहस चलिरहेका बेला एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा पार्टी रहेको धारणा राखेपछि बाम एकता अघि बढ्न नसक्ने प्रष्ट भएको छ ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको उनको भनाइ छ ।

‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन, तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौंं,’ उनले भने ‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ, कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् ।’

महासचिव पोखरेलले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताहरूको मन जोडेर अगाडि बढ्ने बताउँदै बाम एकताको संभावना नरहेको प्रष्ट्याएका छन् । यसअघि कम्युनिष्ट पार्टीबीच एकता गर्न भूमिका खेलेको चीनले नेपालमा कम्युनिष्टबीच एकता भएको हेर्न खोजेको छ ।