देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई पुनःस्थापना गर्न र उनलाई सत्ताच्युत गर्न बनेको पाँच दलीय सत्तारुढ गठबन्धन आगामी स्थानीय तहको निर्वाचनमा ठाउँ र अवस्था हेरेर तालमेल गर्न तयार भएका छन् । निर्वाचनसम्म गठबन्धन जाने वा नजानेमा शंका पैदा भइरहेका बेला सोमबारको गठबन्धन बैठकले स्थानीय तह चुनावमा उत्साहजनक सहभागितासहित सफल पार्न र पाँच दलीय गठबन्धनका उमेदवारहरुलाई अमूल्य मत दिई विजयी गराउन अपिल समेत गरेका छन् ।

गठबन्धनको बैठकले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गर्दै आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता कार्यकर्तालाई संयुक्त बक्तब्यमार्फत अपिल पनि गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठकपछि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्तरुपमा अपिल जारी गरेका हुन् ।

उनीहरुले हिजोका सबै मतभेदलाई पर पन्छाउँदै चुनावमा एक अर्कालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध छन् । र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं,’ पाँच दलका नेताद्धारा जारी अपिलमा भनिएको छ ।

‘त्यसका लागि देशैभर ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडी बढ्न पाँचदलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौं,’ अपिलमा भनिएको छ । पाँच दलले नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेपनि त्यस्तो परिवर्तन नचाहने शक्तिहरूले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । परिवर्तनविरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता महसुस गरेको नेताहरूको भनाइ छ । गठबन्धनले १७ चैतको बैठकमै आगामी चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो । चुनावी तालमेल कसरी गर्ने भन्ने मोडालिटी तयार गर्न मंगलबार दिउँसो ४ बजे गठबन्धनको अर्को बैठक बोलाइएको छ ।