सामूहिक राजीनामाले कांग्रेसमा तरङ्ग - रुपान्तरण
 २०८३ बैशाख १८, शुक्रबार    

सामूहिक राजीनामाले कांग्रेसमा तरङ्ग


काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल हुने भएपछि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसभित्र हलचल आएको छ । अधिकांश जिल्लामा चुनावी तालमेलको विपक्षमा कार्यकर्ताहरु देखिएका छन् । शनिबार चितवनमा भएको सामूहिक राजीनामाले भने नेतृत्व थप दबाब बढेको छ ।

स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन्। स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा उनीहरूले शनिवार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

काँग्रेस माओवादी करण भएको उनीहरूको आरोप छ। काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए। पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको आरोप लगाए। पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ।
त्यस्तै चितवन कांग्रेसका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए जिम्मा नलिने प्रतिक्रिया पनि दिइसकेका छन् ।

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनाल बताए । शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)ंलाई छाड्ने गरी तालमेल हुने बताएका थिए ।

चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेको छ ।