प्रचण्ड-नेपाल समूह पूरानै घरमा फर्कने मनस्थितिमा - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

प्रचण्ड-नेपाल समूह पूरानै घरमा फर्कने मनस्थितिमा


काठमाडौं । सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले)र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।

नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच लामो समयदेखिको संघर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था छैन । सर्वोच्चको फैसलाअघि नेकपामा रहँदा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्दै नेता नेपाल नेकपाको अध्यक्ष बन्नुभएको थियो ।

यस्तै अबको रणनीतिबारे माओवादी केन्द्रका नेताहरु पनि छलफलमा जुटेका छन् । यता भावी सत्ता समीकरणबारे नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ । यसअघि नेकपा फुटिनसकेको अवस्थामा कुनै एउटा समूहलाई मात्रै समर्थन गरेर अघि नबढ्ने बताएको कांग्रेसलाई अब भने कुन समूहलाई सहयोग गरेर अघि बढ्ने भन्ने बाटो खुलेको छ ।

तर यता दुर्वै पार्टीहरुले छुट्टाछुट्टै गतिविधि संचालन गर्न थालेका छन् । पार्टी एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछि गुट विभाजन भए पनि पार्टी टुक्रिएपछि भने फेरि एमालेका पूर्व नेताहरु एमालेतिरै र माओवादीका नेताहरु माओवादीतिरैबाट गतिविधि संचालन गर्ने मनस्थितिमा पुगेका छन् ।

विशेषगरी ओली समूह र प्रचण्ड–नेपाल समूह बनेकामा ओलीतिर रहेका माओवादीका नेताहरु अझै घर फर्केका छैनन् भने प्रचण्ड–नेपाल समूहका नेताहरु घर फर्कने तयारीमा जुटेका छन् ।

सोमबार साँझ पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको बैठकले सर्वोच्च अदालतको फैसला अनुसार अब आफ्नै पार्टीमा फर्केर संघर्ष गर्ने निर्णय गर्नुपर्ने आवाज उठेको थियो । पेरिसडाँडामा नेताहरु निकै भावूक देखिन्थे । उनीहरुको मन निकै मिलेको थियो । तर परिस्थितिले भने उनीहरुलाई छुट्टाइदिएको छ । पेरिसडाँडाबाट एमालेतर्फका नेताहरुले आफूहरु पुरानै स्थितिमा फर्कने बताएका थिए । उनीहरुले पार्टीभित्रै रहेर विकृति र विसंगतिविरुद्ध लड्ने बताइरहेका थिए ।