पालिकाहरुमा गठबन्धन गर्ने नेताहरुबीच सहमति - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

पालिकाहरुमा गठबन्धन गर्ने नेताहरुबीच सहमति


काठमाडौं । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहितका पालिकामा गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

पाँच दलका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेको सहमति पत्रमा गठबन्धन गर्ने उल्लेख छ ।

काठमाडौं, ललितपुर, विरागनगर महानगरपालिका र धरान, इटहरी, कलैया, बुटवल, तलसिपुर, नेपालगञ्ज तथा धनगढी उपमहानगरपालिकाहरुमा प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको हो । त्यस्तै, वीरगञ्ज, भरतपुर, पोखरा महानगरपालिका र जितपुर सिमरा, घोराही तथा हेटौँडा उपमहानगरपालिहरुमा उपप्रमुख पदमा काँग्रेसको तर्फबाट उम्मेदवारी दिने सहमति भएको छ ।

पाँच दलबीच भएको सहमतिअनुसार भरतपुर महानगरपालिका र जितपुर सिमरा तथा घोराही उपमहानगरपालिमा नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । साथै, ललितपुर महानगरपालिका र धरान तथा धनगढी उपमहानगरपालिकामा उपप्रमुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने भएका छन् ।

पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ । साथै, काठमाडौं महानगरपालिका र इटहरी, बुटवल तथा तुलसीपुर उपमहानगरपालिकामा उपप्रमुख पदमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएका छन्।

सहमतिअनुसार वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । साथै, विराटनगर महानगरपालिका र कलैया, नेपालगञ्ज उपमहानगरपालिकामा उपप्रमुख पदमा जसपाले उम्मेदवारी दिने सहमति पाँच दलबीच भएको छ ।