कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता पर्दैन - रुपान्तरण
 २०८१ बैशाख २४, सोमबार    

कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता पर्दैन


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी लिएर अगाडी जानुपर्ने आवश्यकता नभएको बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठिमा बोल्दै नेता कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई कसैको बैशाखीको आवश्यकता नपर्ने बताएका हुन् ।

उनले निर्वाचनमा कांग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्न सक्ने बताए । नेता कोइरालाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरित गठबन्धनका शिर्ष नेताहरुको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए । उहाँले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसकेमा कांग्रेस कमजोर हुने बताए । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए ।

कांग्रेस उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै उपसभापति गुरुङले पार्टीलाई तालमेलले भन्दापनि एजेण्डाले जिताउनतिर लाग्नुपर्ने बताएका हुन् । उनले जनताको मन छुनेगरी घोषणापत्र बनाउन सकेमा नेपाली कांग्रेसलाई ५१ प्रतिशतको कांग्रेस बनाउन सकिने बताए ।

महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्टहरूको द्वध चरित्र बारम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने बताए । महामन्त्री थापाले कांग्रेससँग रहेका ३२ लाख मतदाता भन्दा माथि बढाउन नसक्ने सोचाइ राखेर अघि बढ्ने हो भने हरेक पटक नेपाली कांग्रेस कम्युनिष्टहरूसँग डराएर बस्नुपर्ने बाध्यता सिर्जना हुने बताए ।