डब्ल्यूएचओका प्रमुख नेपाल भ्रमणमा - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

डब्ल्यूएचओका प्रमुख नेपाल भ्रमणमा


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा.टेड्रोस एइहानोम गेब्रेयसस नेपाल आएका छन् । विहीबार नेपाल आइपुगेका उनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग भेटर्वार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणको क्रममा उनी बिहीबार काठमाडौं आइपुगेका हुन् । उनले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गरेका हुन । उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरे । भेटमा मन्त्री खतिवडाले दोस्रो कार्यकालका लागि महानिर्देशक डा. टेड्रोसलाई नेपालले समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘‘दोस्रो कार्यकालका लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं ।’’ स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘आफ्नो महत्वपूर्ण जिम्मेवारीहरु निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं ।’’

उनले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तव दिए ।

यता, राष्ट्रसभा अध्यक्ष तिमिल्सिनाले डब्लुएचओको महत्वपूर्ण जिम्मेवारी र व्यस्त समयका बाबजुद नेपाल भ्रमणको लागि समय निकाल्नुभएकोमा खुसी व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले कोरोनाको कठीन समयमा संसारभरिका मानिसहरूको जीवन बचाउनका लागि डब्लुएचओले खेलेको भूमिकाको प्रशंसा गरे ।

डब्लुएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यस विरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

‘नेपाल सन् २०२२ को मध्यसम्ममा शतप्रतिशत पूर्ण खोप लगाइसक्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य हासिल गर्ने बाटोमा छ,’ उनलेयस भने,‘महामारीको समयमा नेपाललाई सबै सहयोग उपलब्ध गराउनु भएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट म धन्यवाद दिन चाहान्छु।’