७ सय ५३ स्थानीय तह : १ लाख ३७ हजार बढीको उम्मेदवारी - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

७ सय ५३ स्थानीय तह : १ लाख ३७ हजार बढीको उम्मेदवारी


काठमाडौं । स्थानीय चुनावका लागि देशभरका ७ सय ५३ स्थानीय तहमा १ लाख ३७ हजार बढीले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले दिएको जानकारी अनुसार ३५ हजार २ सय २१ पदका लागि १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको हो । आयोगले कतिपय स्थानमा इन्टरनेट नभएकाले सबै विवरण प्राप्त नभएको पनि जनाएको छ । मेयर पदका लागि ३ हजार २७६ जना, उपमेयरका लागि २ हजार ९ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै गाउँपालिका अध्यक्षमा ३ हजार २ सय ६४ र उपाध्यक्षमा २ हजार २ सय ९६ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै वडाध्यक्षमा ३२ हजार २१७ जना, महिला सदस्यमा २३ हजार ५२१ र दलित महिला सदस्यका लागि २१ हजार २२१ जनाले उम्मेदवारी दिएका छन् ।

खुला वडा सदस्यमा सबै भन्दा बढी ४९ हजार २ सय ३९ जनाको उम्मेदवारी परेको छ । प्रदेशगत रूपमा सबै भन्दा बढी मधेस प्रदेशमा उम्मेदवारी परेको छ । जहाँ ३४ हजार ७ सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश(१ मा २१ हजार ८ सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, लुम्बनी प्रदेशमा २१ हजार ७ सय ५९ जनाले उम्मेदवारी दर्ता गराउँदा वागमती प्रदेशका स्थानीय तहम २३ हजार ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गण्डकी प्रदेशमा १२ हजार १ सय ८६ जनाले उम्मेदवारी दर्ता गराउँदा सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ र कर्णाली प्रदेशमा १२ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

देशभरको मनोनयनमा ४० पदका लागि भने एकल उम्मेदवारी परेको छ । केही हिमाली जिल्लाहरुमा केही अध्यक्ष, वडाध्यक्ष र सदस्यहरुमा एकल उम्मेदवारी परेको हो ।