मुस्ताङ, लोमान्थाङ र कथा कोरालाको - रुपान्तरण
 २०७९ जेठ २, सोमबार    

मुस्ताङ, लोमान्थाङ र कथा कोरालाको


चीन र नेपाल सीमाको कोरालाको कथा : नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीसंग कार्यकारी सम्पादक रुचि श्रेष्ठको वार्ता :

के हो कोराला नाकाको कथा ? किन यति धेरै चर्चामा छ यो नाका ?

कोराला परम्परागत रुपमा नूनको ब्यापार हुने ब्यापारिक केन्द्र हो । चीनसँगको हाम्रो सन्धी अनुसार परिचय पत्र देखाएर, त्यसैको आधारमा तीस किलोेमिटरको बृत्तमा हामी आवत जावत गर्न सक्दछौं । लोमान्थाङबाट चीनको सानो बजार समेत ३० किलोमिटर टाढा छ । सीमानाको नजीकमा त केही पनि छैन । सबै मरुभूमि हो । हामी प्रदेशमा बाँडिनु अघि, कोरालाको चर्चा नहुने बेलामा पनि, त्यो नाकाबाट धेरै सामानहरु चीनियाँ मोटरसाइकलमा लादिएर लोमान्थाङ आउँथ्यो । कहिले कहीं त यस्ता चीनियाँ मालवाहक मोटरसाइकल जोमसोम नै आइ पुग्दथे । यो ब्यापार परम्परा देखिनै चली आएको हो । अहिले सीमा नाका पार गरेर ब्यापार गर्न सकिने आशाचाहीं बचेकै छ । तिब्बतमा ठूलो बजार नभएकोले तत्काल ब्यबसायको सम्भावना छैन । एक त चीनको नेपाल नीति नै स्वीकृत हुन सकेको छैन । सबभन्दा ठूला दुइ नाका चीनले आफनो नियन्त्रणमा, आपूmखुसी चलाएकोछ एकतर्फी ढंगले । अहिले कोराला सीमापार ब्यापारको एउटा नाका हुनसक्छ कि भन्ने आशा जागेको छ । त्यो आशा हाम्रो मनमा मात्रै जागेको हो । हामी नेपालीको प्रबृत्ति पनि भारतलाई सकेसम्म हेप्ने र चीनका अगाडि लम्पसार पर्ने खालको छ । भारत निकट छिमेकी भएको कारण एकअर्कासंग तँ, तँ र म,मको सम्बन्ध छ । तर, चीन दूरीका हिसावले अलि टाढाकै भएकाले रिस उठदा पनि सम्मानको ख्याल गर्नु पर्यो ।

चीनसंग हाम्रो सम्बन्ध भारतसंगको जस्तो बहु आयामिक भएन भन्न खोज्नु भएको हो ?

हो । त्यस्तै हो । अब हेर्नुहोस । मुस्ताङका चेलीबेटी यदाकदा मात्रै उता तिब्बततिर बिहे गर्दछन । उताबाट पनि चेलीबेटी बिहे गरेर आएका उदाहरण नभएका होेइनन । अहिले त त्यो पनि छैन । लोमान्थाङका राजा जिग्मे चीन बिरोधी त थिएनन । तर उनी अमेरिकीका पनि साथी थिए । एउटा कारण यो पनि हो कि चीनको नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आयो । खम्पा बिद्रोहको कारण पनि त्यही थियो । लोमान्थाङका राजाले पनि खम्पाहरुलाई संरक्षण दिएका थिए । खम्पाहरु तिब्बतमाथि कठोर प्रहार गर्न कोराला नाकाबाटै तिब्बत प्रबेश गरेका थिए । खम्पा बिद्रोहपछि चीन नेपालप्रति बढी नै सशंकित भएको हो ।

अब अहिले जेसुकै भने ता पनि, कोराला नाकालाई नेपालले सजिलै ब्यापारिक नाकाका रुपमा संचालन गर्न सक्दैन । ब्यापारका लागि दुबै नाका मजबूत हुनु पर्दछ । पूर्वाधारहरु बन्नु पर्दछ । चीनले कोराला नाकाबाट तिब्बततिर हेर्दा राम्रो देखाउनका लागि राम्रा घरहरु बनाइ दिएकोछ । यसो आइ परेका बेलामा सामान राख्ने गोदाम पनि बनाइ दिएका छन । सीमानामा आफना सैनिक तैनाथ पनि गरेका छन । यति हुँदाहुँदै पनि कोराला नाका अन्तर्राष्ट्रिय ब्यापारका लागि उपयुक्त नाका होइन । किनभने, चीनले अन्तर्राष्ट्रिय ब्यापारका लागि आबश्यक पूर्वाधार बनाएको छैन । अहिलेसम्म रसुवागढी त अन्तर्राष्ट्रिय ब्यापार नाका बन्न सकेको छैन भने कोराला नाका बन्नका लागि त धेरै समय लाग्नेछ । चीनले कोराला नाकालाई सडक संजालका माध्यमले बाँकी देशसंग जोडन प्रयास गरी रहेको छ । तर, बजारको सानो आकारका कारण चीनको प्राथमिकतामा परेको छैन । चीनले हरेक कुरालाई नगद कमाइहुने हिसावले हेर्दछ । सडक होस वा रेल, जहाँ नाफा हुन्छ त्यहाँ छिटो पुग्छ । चीनको बृहद ब्यापारिक नेटवर्कसंग कोराला नाका जोडिएला भन्ने आशा गर्नसक्ने अवस्थामा हामी छैनौं । चौडा सडकको बिस्तार होला भन्ने अनुमान गर्नु कठिन छ ।

हामी कोराला नाकासम्म चौडा सडक बनाउला । पीच गरौंला । तर, त्यसको प्रयोजन के त ? पहिलो त, कोराला नाका हाम्रा लागि ब्यापारिक हिसावले उपयोगीछ भनेरदेखाउनु पर्यो । आयात गरिने सामान मात्र होइन, निर्यात गरिने सामान पनि पर्याप्त हुनुपर्यो हामीसंग । उत्पादनका हिसावले मुस्तांग जिल्ला कमजोर छ । त्यहाँ उत्पादन गरेर बाहिर निर्यातगर्न सकिन्छ भन्ने आशागर्ने अवस्थामा हामी छैनौ । छिमेकका बागलुंग, पर्वत र म्याग्दी जिल्लामा उत्पादित सामान तिब्बतको बजारका लागि चाहिने हो कि होइन ? त्यो मूूल्यका हिसावले सामान्य मानिसको पहूँचभित्र पर्छ कि पर्दैन ? कास्की, स्यांजा र तनहूँको उत्पादन कोराला पुर्याउनु भनेको ‘ओभरहेड कष्ट’ बढाउनु हो । ओभरहेड कष्टले सामानको भाउ स्वतः बढाउँछ । उतापट्टिका ब्यापारीले मालको मूल्य कतिसम्म स्वीकार गर्न सक्छन ? यसको बिश्लेषण गर्नु त बाँकी नै छ । त्यसैले विपदको बेलामा कोराला नाकाहुँदै सहायता आउला । तर, अहिलेको अवस्थामा त्यो सम्भव देखिदैन । अर्कोतिर, हामीले ‘उता’ पठाउने ब्यापारिक र औद्योगिक सामान त केही पनि छैन । हाम्रो सरकारले कोराला नाकामा भौतिक पूर्वाधार निर्माणमा आलेटाले गरेको कारण यही हुनुपर्दछ ।

लगानी गर्नेले त्यसको प्रतिफल पनि हेर्छ । जहाँसम्म पर्यटनको कुरा छ त्यो पनि आफनै ठाउँमा छ । पर्यटन पूर्वाधार बढाउनका लागि लगानी चाहिन्छ । त्यसका लागि हाम्रो राज्यसंग अपार सम्पत्ति त छैन । अहिलेको समयमा कोराला नाकाबाट उता अर्थात चीनतिरका पर्यटक आउनसक्ने अवस्था पनि देखिदैन । नेपालबाट पर्यटक कता जाने ? उता पसी सकेपछि कोराला घुमेर फर्किने कुरा आएन । कोरालामा न पर्यटकले हेरेर गदगद हुने ठाउँ छ । न शपिंग मलहरु छन । कोरोला नाकामा ठूला भवन देखेपछि त्यहाँभन्दा उता चीनको ठूलै शहर पो रहेछ कि भन्ने भ्रम चाहीं पर्ने गरेकोछ ।

यो रणनीति हो कि ? चीनले पनि गरेको जस्तोगर्ने, नेपालले पनि गर्दैछौं भनेर देखाउने ?

जोमसोम–कोराला बाटो बनेकोले लोमान्थांगका जनता अत्यन्त खुशी छन । उनीहरुमा नाकाखुल्ने आशा पनि छ । तर, भूगोलमाथि अलिकति बैचारिक चिन्तनगर्ने मानिसले यो कुरा राम्ररी बुझेका छन-भारत, चीन र अमेरिकाको कुरा नमिलेसम्म यो नाका खुल्दैन । यो त्रिपक्षीय वार्ता नभएसम्म चीनको मनबाट ‘भय’ वा संशय हटाउने कुनै अर्को उपाय परिदृश्यमा कतै देखिदैन । पोखराबाट जोमसोमको बाटोमा कागबेनीबाट माथि उक्लिएपछि त्यहाँका बस्तीका प्रत्येक घरमा दलाइ लामाको तस्वीर टांगिएकोछ । ती तस्वीर चीनियाँहरुका लागि जति संवेदनशील छन, त्यहाँका बासिन्दाका लागिपनि उत्तिकै संवेदनशील छन । मुस्तांग र वरपरको बस्तीमा दलाइ लामाको तस्वीर अत्यन्त लोकप्रिय छ ।

चीनियाँहरुले अहिलेसम्म घरघरमा टांगिएका दलाइ लामाका तस्वीर उतार भन्न सकेका छैनन । उनीहरुले बारम्बार दोहोर्याएका छन, नेपाल चीनको लागि अझै सुरक्षित छैन । सिन्ह्वाका पत्रकारले नेपाल चीनका लागि सुरक्षित छैन भनेर लेखिराखेका हुन्छन । नेपाल र चीन बीच अबिश्वासको क्रम बढदै जाने हो भने चीनले सीमानामा पर्खाल लगाउन पर्छ भनेर लेखिराखेका छन । चीनको दृष्टिमा कोराला नाका सबभन्दा खतरनाक बिन्दू हो । अहिले तिब्बतीहरु लुकीचोरी नेपालपस्ने मुख्य नाकाभनेको कोराला र दोलखा हो । नेपाल–चीन आवागमनको अर्को बाटो हुम्लाको लिमी हो । यहाँको अवस्था फरक छ । लिमीका बासिन्दा घाँसपात र दाउराका लागि सहज आवागमन गर्दछन ।

चीन सरकार, कतै बाट पनि, कुनै पनि सेक्टरमा आफनोबिरुध्द कुरा नहोस भन्नेमा सतर्क रहेकोछ । चीनका बिरुध्द जस्तोसुकै आवाज उठ्यो भने उनीहरु त्यो सहन सक्दैनन । त्यस्तो आवाजलाई दवाइ हाल्दछन । चीनियाँ राज्य र सरकारको सुरक्षाप्रति उनीहरु ज्यादै सम्वेदनशील छन । एकातिर यो अवस्था छ भने अर्कोतर्फ लामो समयदेखि ‘फ्री तिब्बत मुभमेण्ट’ अस्तित्वमा छ । तिब्बती शरणार्थीलाई नेपाल र चीनको नाकासम्म जान नदिने भन्ने नियम छैन । नेपालका कुटनीतिज्ञहरु, कोही अनुहार देखाएर, कोही अनुहार लुकाएर उतापट्टी पुगी राखेकै छन । चीनका लागि थ्रेट यही हो ।नेपालका बिषयमा चीनियाँहरु संवेदनशील छन । यो परिप्रेक्षमा आगामी दिनहरुमा चीनियाहरुले कोराला नाका ब्यापार र आवागमनका लागि खोलिदिए भने आश्चर्य मान्नु पर्दैन । कोराला नाका चीनियाँ भूभागबाट नजीक पनि छ र प्रयोगका लागि सजिलो पनि छ । यो नाकाबाट जुनसुकै बेला, जे सुकै ल्याउन सकिन्छ ।

रसुवागढी र खासामा यस्तो सुबिधा छैन । चीनियाँहरुले पनि यो कुरा महसूस गरिरहेका छन । कोराला नाका भबिष्यमा चीनका लागि खतरा होला भनेर पनि उनीहरुले कोरालालाई अहिले देखि नै नियन्त्रणमा राख्ने अभ्यास गरी रहेका होलान । नेपालको सन्दर्भमा चीनले जहिले पनि औंला ठहर्याउने कारण यो पनि हो । चीनियाँ नेताहरुले नेपालतिरबाट चीनलाई सुरक्षा चुनौति भएको कुरा निरन्तर स्थापित गरिरहेका छन । मलाइ लाग्दछ, यो उनीहरुको बार्गेन गर्ने तरीका हो । मेरो बिचारमा, यो तरीका अपनाएर आउँदा केही बर्षहरु यसरी नै बिताउनेछन चीनियाहरुले । अहिले त अवस्था झन जटिल हुँदै गएको छ । नेपालमा चीनको बीआरआइ र ऋण नीति पारदर्शी हुनुपर्छ भन्ने बिचार चुनावपछि चर्को रुपमा उठन सक्दछ । बीआरआइ पारदर्शी नभएको कुरा नेपालीले बुझि सकेकाछन । बीआरआइको चीनियाँ नीतिले सबै गरीब देशलाई प्रहार गरेकोछ । चाहे त्यो श्रीलंका होस, पाकिस्तान होस, चाहे माल्दिभ्स होस कि मोजाम्बिक होस ।

नेपालको सन्दर्भ लिनुहोस, हामीले पोखरा बिमानस्थलका लागि ऋण लिएका छौं । त्यो ऋणको ब्याजदर कति हो ? कमिटमेन्ट चार्ज कति हो ? ब्यबस्थापन बापत कति तिर्नुपर्ने हो ? कसैलाई थाह छैन । थाह भएको एउटै कुरा -त्यो बिमानस्थल निर्माणमा चीनले दिएको२२ अरबको ऋण चुक्ता गर्न नेपालले पच्चीस बर्षसम्म बिमानस्थलको आम्दानी सोझै चीनलाई बुझाउनु पर्नेछ । रसियाले युक्रेनका बिरुध्द जे जस्तो दुःख दिइ रहेकोछ त्यसलाइ हेर्दा भोली चीनले पनि नेपालसंग त्यस्तै ब्यबहार गर्न सक्छ । भोलीका दिनमा चीनको चलखेल अहिलेको भन्दा बढी हुनेछ । अहिले नेपालको माइक्रो म्यानेजमेन्ट चीनको इन्टरेस्टको बिषय भैसक्यो । अब चीनले एकपटक फेरी कम्युनिष्टहरुलाई एकै ठाउँमा राख्ने अर्थात एकै सूत्रमा गाँस्ने प्रयत्न गर्नेछ । नेपालका सबै कम्युनिष्ट शक्तिलाई जसरी पनि मिलाउन चीनले ठूलो प्रयत्न शुरु गर्नेछ ।

यो भनेको नेपालका राजनीतिक दल र ती दलको नेतृत्वगर्ने ब्यक्तिहरुको कमजोरी हो । नेपालका जनता सुसूचित हुन पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । आफनो जोडबल लगाएर देशको प्रतिष्ठाराख्नु नै देशभक्ति हो । अहिलेको अवस्थामा हामी बिस्तारै बिस्तारै आर्थिक स्वतन्त्रता गुमाउँदैछौं । हाम्रो आर्थिक स्तर कमजोर छ । उत्पादन त छँदैछैन भनेपनि हुन्छ । सरकार उठाउनपर्ने राजस्व समेत उठाउन सक्दैन । ‘ठूला’ र ‘आफ्ना’ भनाउँदा मानिसबाट कर उठाउने ल्याकत छैन सरकारको । राज्य भन्दा ठूलो केही पनि हुँदैन । राज्यले चाह्यो भने जे सुकै र जुनसुकै काम हुनसक्दछ । तर, हामीकहाँ राज्य संयन्त्रहरु नै यति कमजोर अवस्थामा पुगे कि अब कुन सेक्टर भरोसालाग्दो होला भनेर सोच्नुपर्ने बेला आएकोछ ।