डा.शशांक र केशव स्थापितप्रति निर्वाचन आयोगको नजर - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

डा.शशांक र केशव स्थापितप्रति निर्वाचन आयोगको नजर


काठमाडौं । दुई नेताको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले ध्यानाकर्षण जनाएको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक कार्यक्रममा यौन हिंसासम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

बैैशाख १५ गते काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रश्नकर्ताले सोधेको प्रश्नमा स्थापितले ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका सन्दर्भमा आयोगले स्पष्टीकरण सोधेको हो ।

उक्त अभिव्यक्ति आचारसंहिता विपरीत भयो कि भएन ? तपाईंले यस्तो भन्नुभएको हो कि होइन ? भनेर स्पष्टीकरण सोधेको आयोग स्रोतले दाबी गरेको हो ।

यसैबीच, स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैर सरकारी संस्थालाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन पनि आयोगले भनेको छ ।

त्यस्तै, आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो ।

सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।