उम्मेदवारहरुको सूची सार्वजनिक, मतपत्र छपाइ धमाधम - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

उम्मेदवारहरुको सूची सार्वजनिक, मतपत्र छपाइ धमाधम


काठमाडौं । निर्वाचन आयोगले यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सूची सार्वजनिक गरेको छ ।

आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाई भएको आयोगको जनाएको छ । अहिले सार्वजनिक भएको सूचीमा थपघट हुन सक्ने आयोगले उल्लेख गरेको छ । आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मंगलबार सूची सार्वजनिक भएको हो ।

केही स्थानमा निर्वाचनको संशोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएका कारणले प्रणालीमा प्रविष्ट हुन बाँकी भई विवरणमा केही थपघट हुन सक्ने आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै केही स्थानीय तहका लागि भने मतपत्र पुनः छाप्नुपर्ने भएकाले छपाइको काम जारी रहेको आयोगले जनाएको छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचनका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको हो । आयोगले निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको थियो । आयोगले अहिलेसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरेको छ । अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश एकको मोरङमा मात्र मतपत्र ढुवानी गर्न बाँकी छ ।