देउवाको उदघोष : ६५ बर्षमै भत्ता - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

देउवाको उदघोष : ६५ बर्षमै भत्ता


काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरी नेपाली कांग्रेसले मोरङमा विशाल सभा गरेको छ । सो अवसरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार राजनीतिक दलबीच गठबन्धन भएको बताएका छन् ।

‘सबल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगरप्रमुख’ नाराका साथ नेपाली कांग्रेस मोरङद्वारा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा गठबन्धनका उम्मेदवार जिताउन अपिल गरे ।

सत्तारुढ दलसँग बनेको गठबन्धनका उम्मेदवारलाई स्थानीय तहमा उत्साह र जाँगरका साथ जिताउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल दलका कारण आफू प्रधानमन्त्री बनेको स्पष्ट पारे ।

उनले नेपाली कांग्रेसले धोखा खाए पनि कसैलाई पनि धोखा नदिने प्रतिबद्धता व्यक्त गर्दै विराट राजाको दरबार भएको ठाउँमा पुरातात्विक विभागसँग परामर्श गरेर बजेट व्यवस्था गर्ने बताए ।

प्रधानमन्त्री देउवाले आगामी सरकार नेपाली कांग्रेसको बनेमा ६५ वर्षदेखिका मानिसलाई ज्येष्ठ नागरिक भत्ता दिने भन्दै सरकारले अहिले असाध्य रोग लागेका मानिसलाई मासिक रु पाँच हजार भत्ता दिएको जानकारी दिए । स्थानीय तहलाई सम्पूर्ण अधिकार दिने भन्दै प्रधानमन्त्री देउवाले पहाड र मधेस मिलेर देश निर्माण गर्ने सङ्कल्प लिएको चर्चा गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सरकारले शिक्षा, स्वास्थ्यमा विशेष जोड दिएको चर्चा गर्दै महानगरपालिकामा गबन्धनका उम्मेदवारले जितेमा सहरको विकास र जनताको जीवनस्तर उकास्ने काम गर्ने योजना रहेका बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिले स्थानीय तहको निर्वाचनको सरकारलाई खासै असर नगरे पनि कालान्तरमा हुने प्रदेश र सङ्घको निर्वाचनमा धेरै ठूलो असर गर्ने धारणा राखे ।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइराला र उपप्रमुखका उम्मेदवार जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले यो निर्वाचनमा सफलता हासिल भएमा नगरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।