हप्तामा दुई दिन बिदा : थेग्न मुस्किल - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

हप्तामा दुई दिन बिदा : थेग्न मुस्किल


काठमाडौं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णयप्रति पक्षविपक्षमा बहस भइरहेको छ । परीक्षणका लागि भन्दै हप्तामा दुई दिन विदा दिने निर्णयले स्वास्थ्य र शिक्षा क्षेत्रलाई असहज देखिएको छ ।

स्वास्थ्य संस्थामा यो निर्णय लागू गर्ने कि नगर्ने भन्ने विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अझै निर्णय गर्न सकेको छैन । वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार साप्तहिक बिदा दिने निर्णय गरिसकेको छ । बिदासँगै सरकारले बिहान साढे नौ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय पनि परिवर्तन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार अस्पतालका निर्देशक र पेशागत सङ्घ–सङ्गठनका प्रतिनिधिलाई पत्रचार गरिसकेको छ । शिक्षा क्षेत्रमा पनि दुई दिन विदाले समस्या निम्तने खतरा रहेको बताइएको छ । अस्पतालहरुमा सेवाग्राही र सेवाप्रदायकलाई असजिलो हुने भएकाले मन्त्रालय अन्योलको अवस्थामा पुगेको छ ।

सरकारी र सार्वजनिक कार्यालयहरूमा हप्तामा ५ दिन कार्यालय जाँदा कार्यालयका सवारी साधन, इन्धन, बिजुली र पानी जस्ता बस्तुको खपत उल्लेख्य रूपमा कटौती गर्न सकिने देखिएको बताइएको छ ।

नेपालमा चाड पर्व लगायतका बिदा समेत धेरै रहेको अवस्थामा दुई दिन बिदा दिँदा काम गर्ने समय प्रभावित हुने कतिपयको बुझाइ रहे पनि सरकारी अध्ययनको निचोड भने फरक छ। हप्तामा दुई दिन बिदा हुनासाथ हाल वर्षको ५२ दिन साप्ताहिक बिदा हुनेमा बढेर १०४ दिन पुग्ने छ।

विभिन्न देशको अवस्था हेर्दा औसत २२ देखि २५ दिन अन्य किसिमका बिदा हुने गरेको पाइएको छ । नेपालमा पनि साप्ताहिक बाहेक सबैलाई हुने खाले करिब २० देखि २२ दिन बिदा हुने र करिब ८ देखि १० दिन क्षेत्रीय, जातीय वा महिलाहरूले मात्रै पाउने खाले बिदा हुने गर्छ।

विश्वका ठूला महानगरहरूमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेको छ । सहरमा राज्यको काम गर्न दुई दिन बाहेक अन्य दिन कर्मचारी पूर्ण रूपमा क्रियाशील हुनुपर्छ र दुई दिन चाहिँ घर गएर उनीहरूको व्यवहार पनि सम्पन्न होस भन्ने हिसाबले बिदा दिइने गरेको बताइन्छ ।

सँगसँगै आन्तरिक पर्यटन प्रवर्धन हुने अनि राज्यको पनि इन्धन लगायतका कुराहरूमा बचत हुने हुँदा यो व्यवस्था लाभदायी हुने विभिन्न मुलुकहरूको अध्ययन र अनुभवहरूले देखाएको बताइन्छ ।

यद्यपी, कोरोनाभाइरस महामारीको चपेटामा परेको नेपालको पर्यटन क्षेत्रलाई उकास्न र सरकारी खर्च कटौती गर्नका लागि भन्दै साताको दुई दिन बिदा दिन सिफारिस गरिएसँगै यस विषयमा विभिन्न किसिमका टीकाटिप्पणी भइरहेका छन्।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार संसारभर धेरैजसो मुलुकमा कर्मचारीले साताको ४० घण्टा काम गर्छन्। सातामा पाँच दिन काममा लगाउने र दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय अभ्यास छ। नेपालमा पनि २०४७ सालमा पहिलोपटक हप्तामा दुई दिन बिदा दिन सुरुआत गरिएको थियो। त्यसपछि २०४८ सालमा तत्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन सहज हुने भन्दै दुई दिन बिदा दिन सिफारिश गरेको थियो। त्यो सिफारिश अनुसार २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयन गरिएको थियो। काठमाडौं उपत्यकाबाट शुरु गरिएको दुईदिने बिदा एक वर्ष पनि टिक्न नसकेको बताइन्छ ।

 

"

"