काठमाडौंमा उम्मेदवारले देखेनन् फोहोरको थुप्रो ? - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

काठमाडौंमा उम्मेदवारले देखेनन् फोहोरको थुप्रो ?


काठमाडौं । देशभर स्थानीय तहको चुनावी माहोल तातेको बेला काठमाडौं उपत्यकाका सडकहरुमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको छ । उम्मेदवारहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन पहिलो एजेण्डा बनाइरहँदा सार्वजनिक ठाउँमा फोहोरको थुप्रो लाग्ने क्रम बढेको हो ।
गर्मी याम शुरु भएको र चुनावले मानिसहरुलाई व्यस्त गराइरहेका बेला सडकमा जथाभावी फोहोर थुप्रिन थालेपछि महमारीको त्रास बढाएको छ । विशेषगरी काठमाडौं महानगरमा हप्तौंदेखि फोहोर उठेको छैन । अझ वर्षाले थुपारेकै ठाउँमा कुहिन थालेपछि पदयात्रीको बेहाल भएको छ । राजधानी दुर्गन्धित हुँदा स्थानीय आक्रोसित छन् ।

चुनावी मौकामा ल्याण्डफिल्ड साइट पुग्ने बाटोमा स्थानीयले विभिन्न माग राखी अवरोध गर्दा फोहर उठन नसकेको महानगरको भनाइ छ । महानगरसँग सम्बन्धित माग पूरा गर्न आफूहरू तयार भए पनि सडक कालोपत्रे गर्ने काम आफ्नो कार्यक्षेत्रभित्र नरहेको महानगरपालिकाका कर्मचारीहरु बताउँछन् ।

मागका विषयमा पटक-पटक बैठक भइरहेको छ । केही माग सम्बोधन भएका छन् । तर, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाले मागमाथि माग थपेको महानगरको भनाइ छ ।

फोहोरमा मोहर फलाउने नाराबाट सुरु भएको राजनीति अझैं गन्तव्य पाएको छैन । स्थानीय निकायका उम्मेदवारसँग पनि यस विषयमा स्पष्ट योजना छैन। काठमाडौंबासीले चाँडो फोहोर व्यवस्थापनमा दबाब दिइरहेका छन् । तर सबैलाई चुनाव लागेकाले सम्बन्धित निकायको यतातिर ध्यान पुगेको देखिदैन ।