विशिष्ट व्यक्तित्वको नेपाल भ्रमण - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

विशिष्ट व्यक्तित्वको नेपाल भ्रमण


२५६६ औं बुद्ध जयन्तीको शुभ अवसरमा नेपालका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको निमन्त्रणामा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालको औपचारिक भ्रमणको क्रममा जेष्ठ २ गते लुम्बिनी भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी आएपश्चात प्रधानमन्त्री मोदी मायादेवी मन्दिरमा आयोजना हुने विशेष पूजामा सहभागी हुनुहुनेछ । उक्त विशेष पूजामा प्रधानमन्त्री देउवा पनि सरिक हुनुहुनेछ । प्रधानमन्त्री मोदीले अशोक स्तम्भ अगाडी दीप प्रज्वलन गर्नुहुनेछ र सन् २०१४ मा नेपाल भ्रमण ताका प्रधानमन्त्री मोदीले उपहारस्वरुप प्रदान गर्नुभएको बोधि वृक्षमा पानी हाल्नुहुनेछ ।

माननीय प्रधानमन्त्री मोदीले भूमि पूजन गर्नुका साथै नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय बौद्ध महासंघको पहलमा निर्माण भइरहेको बौद्ध संस्कृति र सम्पदाको लागि भारत अन्तर्राष्ट्रिय केन्द्र (India International Centre for Buddhist Culture and Heritage) को शिलान्यास गर्नुहुनेछ ।

दुई प्रधानमन्त्रीबीचको द्विपक्षीय भेटमा हालै भएका सम्झौताको विस्तृत समीक्षा गर्ने कार्यक्रम पनि रहेको छ । द्विपक्षीय बैठकपछि दुई देशबीच सांस्कृतिक र शैक्षिक क्षेत्रमा सहकार्यसम्बन्धी केही समझदारीपत्र आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री मोदी र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री मोदीले २५६६ औँ बुद्ध जयन्ती महोत्सवमा सहभागीता जनाउनुका साथै बौद्ध धर्मसँग सम्बन्धित विद्वान तथा भिक्षुहरु लगायत नेपाल र भारतबाट उपस्थित मानिसहरुको ठूलो भेलालाई सम्बोधन गर्नुहुनेछ ।

इतिहास, संस्कृति, परम्परा र धर्मको सदियौं पुरानो निकटतामा आधारित द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ, व्यापक र बहुआयामिक बनाउने यस भ्रमणको मुख्य उद्देश्य रहेको छ । यस भ्रमणले जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउने र द्विपक्षीय पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

नेपालका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले हालै भारतको नयाँ दिल्ली र बनारसको भ्रमण गर्ने क्रममा काशी विश्वनाथ तथा काल भैरव मन्दिरमा पूजा अर्चना गरी बनारसको ललिताघाटस्थित नेपाली पशुपतिनाथ मन्दिरमा विधुवाहरुका लागि आश्रयस्थलको शिलान्यास गर्नुभएको बारे हामी सबैलाई थाहा छदैछ । प्रधानमन्त्री मोदीको आगामी भ्रमण सोही भ्रमणको अनुगमनका लागि हुनेछ ।

सन् २०१४ मा भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको यो पाँचौं नेपाल भ्रमण हो । सन् २०१९ मा भारतको प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि प्रधानमन्त्री मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । नेपाल र भारतबीच नियमित उच्चस्तरीय भ्रमण तथा औपचारिक अन्तरक्रिया हुने गरेको छ । अगस्ट महिनामा द्विपक्षीय भ्रमणको लागि र नोभेम्बर महिनामा सार्क शिखर सम्मेलनको लागि गरेर सन् २०१४मा भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीले नेपालको दुई पटक भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले सन् २०१८ को मे ११ देखि १२ सम्म नेपालको राजकीय भ्रमण गर्नुभएको थियो । सोही वर्षकै अगस्ट ३० देखि ३१ सम्म बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन वहाँ दुई दिने नेपाल भ्रमणमा आउनुभएको थियो । भारतको प्रधानमन्त्रीको हैसियतमा यस अघिका नेपाल भ्रमणमा वहाँले धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थलहरु जस्तैं काठमाडौंस्थित पशुपतिनाथ मन्दिर, जनकपुरधामस्थित जानकी माता मन्दिर र मुस्ताङ्गस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुभएको थियो । यी धार्मिक स्थलहरुले भारत र नेपालका जनतालाई जोडेर राखेको छ । त्यस्तै प्रधानमन्त्री मोदीको निमन्त्रणामा नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०१७ अगस्टमा भारतको राजकीय भ्रमण गर्नुभएको थियो । नेपालको प्रधानमन्त्री भएपश्चात वहाँले सन् २०२२ अप्रिल १ देखि ३ सम्म पुनः भारतको भ्रमण गर्नुभएको थियो ।

दुई देशका नेताहरुद्वारा निरन्तर गरिने उच्चस्तरिय भ्रमणले दुई देशबीचको सद्भावना, विश्वास, समझदारी र सहकार्यलाई प्रवद्र्धन गर्न मद्दत गर्नुका साथै मित्रता र सहकार्यको बहुआयामिक द्विपक्षीय सम्बन्धलाई नयाँ गति प्रदान गर्छ ।

"