मोदीको ‘मायावी’ यात्रा - रुपान्तरण
 २०८१ बैशाख ४, मंगलबार    

मोदीको ‘मायावी’ यात्रा


जुनसुकै समय, काल र परिस्थितिमा जब दुई राष्ट्र प्रमुखहरुको भेट हुन्छ, स्वाभाविक रुपमा त्यस भेटलाई हेर्ने, सुन्ने र थाह पाउने सबैले राजनीतिक र कुटनीतिक चासोका साथ हेरेका हुन्छन । भ्रमणबारे बिभिन्न अड्कलबाजी पनि लगाउने गर्छन । यो साता नेपालमा पनि यस्तै घटना भयो । राजनीतिक र कुटनीतिक अड्कलहरुका बीच, बुद्ध पूर्णिमाको धार्मिक बातावरणमा गौतम बुध्दको जयन्ती मनाउन, भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी कुशीनगरको बाटोहुँदै लुम्बिनी आइपुग्नु भयो । लुम्बिनी परिसरमा उहाँलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्नुभयो । त्यहीं उहाँहरुका बीच औपचारिक वार्ता र भलाकुशारी भयो ।

राज्यले जति सुकै नियन्त्रण र राजनीतिकरणगर्न खोजे पनि कला, साहित्य, धर्म र संस्कृतिको प्रभाव राज्यको भौगोलिक सीमाभित्र बाँधिएर रहन सक्दैन । अभिव्यक्ति र आस्थाजस्ता मानवीय संवेदनासँग गाँसिएका यी तत्वहरु सम्बन्धका सार र आधार हुन । यी तत्वलाई संबेदनशीलता र स्वीकारोक्तिले मात्र जीवन्त राख्न सक्दछ ः चाहे त्यो मानव–मानव बीचको सम्बन्धमा होस् अथवा मानव र प्रकृति बीचको सम्बन्ध होस् । चाहे दुई समाज, अनेक समय र पृथक सभ्यता बीच कै सम्बन्धमा किन नहोस् ।

राजनीति र युद्धमा शक्ति संचयको निमित्त भावनाको प्रयोग कुनै नौलो कुरो होइन । यस्तो प्रयोग कहिले आवश्यकताको नाममा गरिन्छ भने कहिले बाध्यताको बहानामा । तर, भावुकताको आधारमा राजनीतिक निर्णयहरु गरिंदैन । राजनीतिमा भावनाको सम्मान गर्नसक्ने संबेदनशीलता र त्यसै अनुरुप निर्णय लिनसक्ने नेतृत्वको क्षमताले सभ्य राज्यको परिचय दिइरहेको हुन्छ ।

यस्तै–यस्तै आत्मलाप गर्दा गर्दै म गौतम बुध्द बिमानस्थल भैरहवामा ओर्लिएको थिएँ । प्रचण्ड गर्मीका कारण बिचलितहुन थालेको आफ्नो मनलाई म बुद्ध जयन्तीको दिन, बुद्धकै जन्मभूमिमा, बुद्धको शान्ति सन्देश सुनाउने असफल प्रयत्न गर्दै थिए । छेवैको गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल चकमन्न थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बिमानस्थल उद्घाटन गर्नुहुने कार्यक्रम थियो । उद्घाटन कार्यक्रम सकेर उहाँ भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको स्वागतका लागि लुम्बिनीतर्फ प्रस्थान गरिसक्नु भएको थियो ।

प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भ्रमण ‘मायावी’ थियो । उहाँ सिधै र सजिलोसंग अवतरणगर्न सकिने नेपालको गौतम बुद्ध अन्तरराष्ट्रिय बिमानस्थलमा अवतरण नगरेर किन नेपाल–भारत सीमा देखि करिब २०० किलोमिटर टाढा रहेको भारतको कुशीनगर अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्नु भएको थियो ? भारतीय प्रधानमन्त्री मोदी पहिले आफनै देशमा बनेको अन्तर्राष्ट्रिय बिमानस्थललाई प्रोत्साहितगर्न चाहनु हुन्थ्यो । उहाँ त्यहाँबाट भारतीय वायुसेनाको हेलिकप्टरमा लुम्बिनी आउनु भएको थियो । प्रधानमन्त्री मोदीले बडो मायावी ढंगले निर्माणाधीन बुध्द सर्किटलाई आकार दिनु भयो । बुध्द सर्किटमा लुम्बिनी नजोडिएसम्म त्यसले कुनै आकारलिन सक्दैनथ्यो । मायावी मोदीजीले नजानिदो ढंगले लुम्बिनीसंग गया, सारनाथ र कुशीनगर जोडिदिएपछि संघ–चक्र पूरा भयो ।

म लुम्बिनीतिर लाग्दै थिए । मोटरमा बसेपछि मोटरमा जडिएको एसीको चिसोले मलाइ राहत दिएको थियो । राहतको त्यो क्षणमा म फेरी आत्मलाप गर्न पुगेछु । भर्खरै जोमसोमतिर जाँदा त्यहाँ भारतीय पर्यटकको घुइँचो देखेर मेरो मन रमाएको थियो । होटल ब्यवसायीहरु भन्थे, मोदीजीको मुक्तिनाथ दर्शन पछि यहाँ तीर्थाटनगर्न आउने भारतीयको संख्या अप्रत्याशित रुपले बढ्न थालेकोछ । त्यसो भए के अब लुम्बिनीमा पनि बौद्ध धर्मावलम्बी, भारतीय र अन्य खालका पर्यटकहरुको आगमन बढ्ने सम्भावना छ त ?

गौतम बुद्ध लुम्बिनीमा जन्मेका थिए । यो सत्य स्थापित भइसकेको छ । बुद्ध धर्मावलम्बीको लागि लुम्बिनी जति महत्वपूर्ण छ, त्यो भन्दा कम महत्वपूर्ण छैन गया, सारनाथ र कुशीनगर । गयामा सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरेर गौतम बुद्ध भए । सारनाथमा उनले पहिलो पल्ट आफ्ना शिष्यहरुलाई बुद्धत्वको दिक्षा दिए । कुशीनगरमा उनले शरीर त्याग गरेर निर्वाण प्राप्त गरे ।

यी तीनवटै स्थान भारतमा पर्दछ ।

तीर्थाटनको उद्देश्य राखेर आउने यात्रुहरु कुशीनगरको बिमानस्थलबाट मोटरमा लुम्बिनी आइ पुग्छन । त्यहाँ दर्शन गरेपछि स्थानीय बजारमा तन्दुरी रोटी र पालक–पनीर खान्छन । त्यहाँसम्म नेपाललाई फाइदा होला । तर, उनीहरु एक रात पनि नबिताइ कुशीनगर तिरै फर्किए भने लुम्बिनी र भैरहवाका होटल ब्यवसायीहरु के गर्लान ?

मोटरको रफ्तार घट्दै गएपछि मेरो आत्मलाप भंग भयो । सुरक्षा चेक–जाँचको क्षेत्र सुरु भइसकेको रहेछ । अलि–अलि अलमलमै चेक–जाँच पास भयो । मोटर चालक भन्दै थिए, जम्मै सुरक्षा प्रबन्ध ‘उनीहरुले’ गरेका छन । नेपाली प्रेस कसैलाई पनि भित्र जानै दिएको छैन रे । बिशेष परिस्थितिमा सुरक्षा ब्यवस्थाको बिशेष प्रबन्ध हुन सक्छ । तर, प्रेसलाई किन भेदभाव गरियो ? म पनि प्रेसवाला थिएँ । यो “रे” के हो रे ? यसको खुलासा लुम्बिनीमै पुगेपछि हुनेछ भन्ने लाग्यो ।

नेपाल–भारत सम्बन्ध जति स्वाभाविक छ, त्यति नै संबेदनशील छ । जति प्राचीन र ऐतिहासिक छ, त्यतिनै गतिशील र आयामिक छ । एक अर्काका कतिपय अप्ठेरा समस्यालाई हामीले सामान्यरुपमा लिइरहेका हुन्छौ । यो हाम्रो दिनचर्या नै हो । बेलाबेलामा सामान्य देखिने कुनै कुरा कहाँ गएर ठोकिन्छ र एक अर्कालाई च्वास्स बिझाइ दिएको हुन्छ, थाहै हुदैन ।

मोदीजीको लुम्बिनी भ्रमण पहिलो पटकको हो । यसलाई केवल राजनीतिक र कुटनीतिक कदमको रुपमा हेर्न मिल्दैन ।

मोदीजी गहिरो धार्मिक र आध्यात्मिक चेत भएका राजनीतिज्ञ हुन । उनले आफूलाई एक दूरदर्शी शासकका रुपमा प्रमाणित गरिसकेका छन । त्यस अर्थमा भन्न सकिन्छ कि उनले आफनो लुम्बिनी भ्रमणलाई एउटा सेतुको रुप दिन खोजेका छन । नेपाल–भारत बीच रहिआएको बहुआयामिक सम्बन्धमा एउटा थप आयाम । भारतको अयोध्यामा जन्मेका भगवान श्री राम र नेपालको लुम्बिनीमा जन्मेका भगवान बुद्धसंग सम्बन्ध राख्ने तथ्य र प्रमाणलाई आधार बनाउदै त्यसबाट माथि उठेर हिन्दू र बौद्ध धर्म बीचको सार र सत्यको सेतु निर्माण मोदीजीको अभिष्ट हुनुपर्दछ । यसले दुई देश बीचको राजनीतिक र कुटनीतिक सम्बन्धमा पनि अवश्य अर्थ राख्नेछ ।

दिनभरीको गर्मी र अफरा–तफरीबाट मुक्ति पाउन म साँझ पख मायादेवीको मन्दिर तर्फ लागें । तर, त्यहाँ पनि मेरो चित्त शान्त रहन सकेन । हजारौं हजार तीर्थालु र पर्यटकको आवत–जावतको बीचमा म भने उही आफ्नै आत्मलापमा ब्यस्त थिए । चारैतिर हरियाली, ब्यवस्थित बाटोघाटो । यहाँसम्म त सब ठीक छ । तर, बाटोको दुबै छेउमा लस्करै राखिएको बिजुलीबत्ती किन बलेका छैनन ? मायादेवीको प्रांगणमा मैनबत्ती र प्रांगण बाहिर मोबाइलको बत्तीकोे पिलपिले उज्यालोले हरणगर्न नसकेको अन्धकारबाट जीवन र जगतलाई मोचन गर्दै थियो शान्ति दीप । मन्दिर बाहिरका धाराहरुमा थोपो पानी थिएन । बिजुली नभएकोले पानी तान्न नपाएको स्पष्टै थियो । तर पनि लुम्विनी शान्त र सौम्य थियो ।

बाहिर निस्केपछि दुई–तीन जना होटल ब्यवसायीहरुलाई सोधे । सबैले सामान्यरुपमा अन्धकारको एकमात्र कारण देखाए लोडशेडिंग । यो कुरा मलाइ अति असामान्य लागि रहेको थियो ।