संसद बैठक शुरु नहुँदै ओली बाहिरिनुको रहस्य - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

संसद बैठक शुरु नहुँदै ओली बाहिरिनुको रहस्य


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि बोलाइएको बुधबारको संसद बैठक शोक प्रस्तावमै सिमित बनेको छ ।

एक बजे नै संसद भवन परिसर प्रवेश गरेका प्रधानमन्त्री केपी शर्मा ओली करिब ४० मिनेट बसेर बाहिरिएलगत्तै संसद् सचिवालयले बुधबारको बैठकको कार्यसूची नै परिवर्तन गरिदियो ।

बुधबार बस्ने बैठकमा विभिन्न अध्यादेश र विभिन्न दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची भएपनि प्रधानमन्त्री ओली फर्किएपछि परिवर्तन गरिएको हो ।

कार्यसूचीमा विभिन्न अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख थियो । तर शोक प्रस्ताव मात्रै पारित गरेर बैठक स्थगित गरिएको थियो ।

सभामुख अग्नि प्रसाद सापकोटाले आगामी चैत ३ गते दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिदिएका हुन् । शोक प्रस्ताव पारित भएपछि अन्य विषयमा प्रवेश नगर्ने प्रचलन रहेको बताइन्छ ।

कार्यसूची नै परिवर्तन भएपछि प्रधानमन्त्री ओली बाहिरिएसँगै संसद् भवनमा उपस्थित भएका मन्त्रीहरु पनि बैठक छाडेर हिंडेका थिए । खासमा ओलीकै आग्रहमा कार्यसूची परिवर्तन गरिएको बुझिएको छ ।

तर नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले व्यस्तताका कारण प्रधानमन्त्री फर्किएको जानकारी दिएका छन् । सत्ता टिकाउन जुटेका ओली आफू अनुकुलको अवस्था भएमात्र बैठकलाई निरन्तरता दिने मुडमा छन् । नेपाली कांग्रेस, जसपालगायतका पार्टीहरुसँग भइरहेको सत्ता साझेदारीको पहल सकरात्मक हुन नसकिरहेको अवस्थामा ओलीले संसद बैठकलाई निरन्तरता दिने अवस्थामा देखिएका छैनन् ।