पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो - रुपान्तरण
 २०८१ बैशाख ५, बुधबार    

पार्टीभित्रै लाजमर्दो अन्तरघात भयो


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको टिप्पणी गरेका थिए ।संघीय संसद भवन नयाँ बानेश्वरमा पार्टीको संसदीय दलको बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले अरु दलमा नदेखिएको अन्तरघात एमालेभित्र देखिएको बताए । अध्यक्ष ओलीले पार्टीभित्र घात गर्न कहाँबाट सिकेको भन्दै यस विषयमा बृहत समीक्षा गरिनुपर्ने बताए ।

केही सीट घटे पनि पपुलर मत नघटेकाले एमाले हारेको भन्न नमिल्ने उनको तर्क थियो । एमालेले ठुलो घेराबन्दी र प्रतिकुलताका बिच निर्वाचनमा सामेल हुनुपरेकाले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको बास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका थिए । अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठिक भएको बताए ।

उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको अध्यक्ष ओलीको निष्कर्ष रहेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए । ओलीले सरकारको नीति तथा कार्यक्रममाथि व्यवस्थित, तर्कयुक्त र ढंगले संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए । पछिल्लो मत परिणाम अनुसार एमालेले २०४ स्थानमा प्रमुख पद जितेको छ ।