आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सांसदहरु - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सांसदहरु


काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उनीहरुले आर्थिक वृद्धि गर्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

मुलुक कृषिप्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेकाले उत्पादनमा जोड दिन सांसदहरूको माग छ । सांसद हृदयेश त्रिपाठीले नागरिकता विधेयक सहमतिका आधारमा पारित गर्ने कुरा ल्याएर सरकारपछि हट्न खोजेको आरोप लगाए ।

सांसद शेरबहादुर तामाङले मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा नीति तथा कार्यक्रममा समावेश बुँदामा संशोधन प्रस्ताव पेश गर्दै त्यसमा मेलम्ची क्षेत्रको आवाज नबोलेको बताए ।

सांसद भीमबहादुर रावलले स्वदेशी कच्चापदार्थको आधारमा उद्योगको विकास गर्नुपर्ने आवश्यकता औंल्याए । उनले विषादीको परीक्षण नगरी विदेशबाट खाद्यवस्तुको आयात गरिने छैन भनेर संशोधन गर्नुपर्ने माग राखे ।

सांसद खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माणमा जोड दिन सरकारलाई आग्रह गरे। हरेक पालिकालाई पूँजी निर्माणको स्रोत बनाउन सकिने उनको भनाइ छ ।

सांसद दुर्गा पौडेलले प्रादेशिक संरचनाले अनुत्पादक क्षेत्रमा ठूलो बजेट गएकाले विकासमा दिने बजेटसमेत कुण्ठित भएको भन्दै त्यस्ता संरचना खाजेर गर्न माग गरिन ।

सांसद प्रेम सुवालले कालापानीमा तैनाथ भारतीय सेना तथा दार्चुलामा अतिक्रमण गरी बनाइएको तटबन्ध हटाउनेसम्बन्धी ब्यहोरा राख्न सूचना पेश गरेका छन् ।

यता, संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका छन् ।

६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन् ।