विमान दुर्घटना: शव काठमाडौं ल्याइयो, जाँचबुझ आयोग गठन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

विमान दुर्घटना: शव काठमाडौं ल्याइयो, जाँचबुझ आयोग गठन


काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव संकलन जारी रहेको सुरक्षा स्रोतले जनाएको छ । दुर्घटनामा परेर मृत्यु भएकामध्ये २१ जनाको शव संकलन भएको छ । एउटा शव भने फेला पार्न सकिएको छैन । संकलित १० जनाको शव काठमाडौं ल्याइएको छ ।

बाँकी शव ल्याएपछि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने छ । नभेटिएको एउटा शव खोँचमा झरेको अनुमान गरिएको छ । भिरालो भएकाले उक्त शव डोरीको सहायतामा निकाल्ने प्रयास भइरहेको छ । सेनाको हेलिकोप्टरबाट कोवाङ क्षेत्रमा झारिएका शव मौसम प्रतिकूल भएका कारण एकमुष्ठ ल्याउन नसकिएको हो ।

आइतबार बिहान ९ः५५ मा पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा रहेका २२ जनाको ज्यान गएको थियो । सोमबार बिहान मात्रै उद्धार टोली दुर्घटनास्थल पुगेर शव संकलन गरेको हो ।

खराब मौसमका कारण दुर्घटनास्थल पत्ता लगाउनै समय लागेको थियो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका थिए । गाउँदेखि निकै माथिको चट्टानी पहाडमा विमान ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङबाट सशस्त्र प्रहरी निरीक्षक मिन बहादुर केसीको कमाण्डमा २५ जना टोली सोमबार बिहान १०ः५५ बजे दुर्घटनास्थलमा पुगि उद्वार कार्यमा सकृयताकासाथ जुटिरहेको छ ।

यता, विमान दुर्घटनाको कारणबारे सत्यतथ्य पत्ता लगाउन सरकारले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।