किशोर नेपाल र मेरो संगत - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

किशोर नेपाल र मेरो संगत


-प्रकाशविक्रम शाह

जीवनलाई एउटा लयमा हिडाउन मार्गदर्शक एवम पथप्रदर्शक चाहिन्छ । आफ्नो लक्ष्य हासिल गर्न होस या त आफूले चाहेको पेशामा अगाडि बढ्न एक जना मार्गदर्शक पक्कै चाहिने रहेछ । प्रेरणा दिने र सकरात्मक साथ सहयोग गर्ने निस्वार्थ भावनाको व्यक्ति आज मेरो मानसपटलमा गुन्जिरहेछ । पत्रकारितामा करियर बनाउने समयमा उहाँले दिनुभएको साथ र मार्गदर्शन स्मरण गर्नु आवश्यक ठानेको छु । उहाँसँगका संवादहरु अहिले जीवनकै कायकल्प झैं लाग्छ । खरो र रुखोजस्तो लाग्ने उहाँको शब्दहरु पत्रकारिता जीवनका लागि प्रेरणादायी लाग्छन् ।

कुनै समयको कुरा हो । म पत्रकारितामा करियर बनाउन भौतारिरहेको थिएँ । “कैलालीमा सिडियो बस्दैनन् र ?” गोरखापत्रको कैलाली समाचारदाता नियुक्तीको निवेदनसहित गोरखापत्र दैनिकको कार्यालयमा पुग्दा प्रधान सम्पादक किशोर नेपालले भन्नुभएको यो वाक्य अहिले पनि मेरो कानमा गुञ्जिन्छ ।

गोरखापत्रमा नियुक्तिका लागि निवेदन सहितगएको मैले “कैलालीमा खाली छ सर, मलाई राख्नु पर्यो” भन्दा उहाँले सिडियो बस्दैनन् र ? भन्नु भएको थियो । उहाँको पत्रकारिताको उचाइ देखेर प्रभावित मलाई उहाँका अगाडि कसरी कुरा गर्ने भन्ने डर लागेको थियो । त्यसैमा उहाँको प्रतिप्रश्नले म झन डराएको थिएँ ।

०५८ सालको फागुनको पहिलो साता उहाँको कार्यकक्षमा त्यतिबेलाका प्रमुख संवाददाता आनन्दराम आचार्य र मेरा साथी देवबहादुर कुँवर (जो त्यतिबेलादेखि अहिलेसम्म कार्यरत छन्) लाई साथमा लिएर गोरखापत्रमा पुगेको थिएँ । खासमा देवबहादुरजीको सल्लाहमा नै म गोरखापत्रमा निवेदन दिन पुगेको थिए ।

प्रधान सम्पादक नेपालको शुरुको शब्दले तनाव दिए पनि उहाँले प्रमुख समाचारदाता आचार्यलाई त्यतिबेलै “प्रकाशलाई समाचार लेख्न लगाएर हेर्नु, त्यसपछि नियुक्ती गरौंला” भन्नु भएपछि मलाई केही राहत भएको थियो ।

उहाँसंगको कुराकानीको भोलीपल्ट मैले समाचार लेखेर आचार्य सरलाई दिएँ । उहाँले मैले लेखेका समाचार हेरेर किशोर सरकहाँ लग्नुभयो र लेखाइ त ठिकै छ भन्ने भयो । तर, नियुक्तीमा ढिलाई भयो । पछि मैले मेरो मामा पर्ने तत्कालिन परराष्ट्र राज्यमन्त्री अर्जुन जंगबहादुर सिंहलाई भनेपछि र फागुन १५ गते नियुक्ती पाएँ । गोरखापत्रमा काम गर्न थालेको केही महिनापछि प्रधान सम्पादक नेपालले मलाई कैलाली र कञ्चनपुरको समेत काम गर्ने गरेर नियुक्ती दिनु भएको थियो । त्यसपछि अहिलेसम्म २१ वर्षदेखि गोरखापत्रमा कार्यरत छु । केही वर्षयता मेरो भूमिकामा समेत परिवर्तन भएर प्रदेश संयोजकका रुपमा गोरखापत्रमा कार्यरत छु ।

मैले पत्रकारिता ०५६ सालको साउनमा धनगढीबाट प्रकाशित भइरहेको सेती समाचार दैनिकबाट शुरु गरेको थिएँ । म त्यतिवेला एउटा राजनीतिक दलको सक्रिय कार्यकर्ता थिएँ । २०५६ सालको निर्वाचन परिणामले आत्तिएर म पत्रकारितामा होमिएको थिएँ । अर्कोतिर धनगढीको बसाई कायम राख्न पनि मैले केही न केही काम गर्नैपर्ने बाध्यता थियो ।

म एकदिन कैलाली उद्योग वाणिज्य संघमा गएको थिए । त्यहाँ संघका कार्यालय प्रमुख डिल्लीराज शर्माले मलाई भन्नुभयो– किशोर नेपाल जस्तो पत्रकार बन्नुपर्छ । अनि मैले उहाँको बारेमा बुझ्न थाले । नेपाल सर त्यतिबेला नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो । मैले उहाँको बारेमा बुझ्दै जाँदा उहाँ नेपाली पत्रकारिताको भिष्म पितामह नै हुनुहुँदो रहेछ ।

उहाँका बारेमा धेरै थाहा पाए पनि प्रत्यक्ष चिनेको गोरखापत्रमा नै हो । यद्दपि, उहाँ सम्पादक रहेको नयाँ सडक दैनिकमा केही समय मैले धनगढीबाट समारचादाताका रुपमा काम गरेको थिएँ । तर उहाँसित भेटघाट र फोनमा कुराकानी भने हुनसकेको थिएन ।

त्यही बेला २०५९ साल असोज १८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले बर्खास्त गरे । लगत्तै प्रधानसम्पादक तथा अध्यक्ष किशोर सर पनि गोरखापत्रबाट बाहिरिनु भयो । अनि उहाँ माओवादी द्वन्द्वले समाजमा पारेका प्रभावबारे जनतामाझ “मत अभिमत” नामको टेलिभिजन कार्यक्रम सञ्चालन गर्नुभयो । माओवादी द्वन्द्व चरममा पुगेको वेला बेला गाउँगाउँमा टेलिभिजन कार्यक्रम चलाउनु निकै दुरुह कार्य थियो । त्यो बेला किशोर सर डायबिटिजबाट ग्रसित हुनुहुन्थ्यो । उहाँ नियमितरुपमा आफैं इन्सुलिन लगाउनुहुन्थ्यो । आफ्नो स्वास्थ्यको समेत परबाह नगरेर गर्मी, जाडो, वर्षा नभनी जनतामाझ अन्तक्र्रियात्मक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने उहाँको साहस साच्चै नै प्रशंसनीय छ ।

मत-अभिमत टेलिभिजन कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा उहाँले छायाङ्कन गर्नुभयो । यस क्रममा मैले पनि उहाँसंगै अछामको सदरमुकाम मंगलसैन जाने अवसर पाए । यो २०६० सालको पुस महिनाको कुरा हो ।

त्यसको डेढ वर्षअघि मंगलसेनमा माओवादीले भीषण आक्रमण गरेको थियो । आक्रमणबाट ध्वस्त भएका भौतिक संरचनाका अवशेष बाँकी नै थिए । मंगलसेनसहित पुरै अछाममा माओवादी द्वन्द्वको अत्यधिक असर थियो । जहाँतही राज्यको सुरक्षा निकाय सतर्क रहेको महसुस हुन्थ्यो । बाहिरी मान्छे जिल्लामा पुग्दा सुरक्षाकर्मीको अधिक केरकार हुन्थ्यो । सडक यातायात थिएन । साँफेबगरबाट हिँडेर सदरमुका मंगलसैन पुग्नुपर्दथ्यो ।

धनगढीबाट जीपमा बिहानै हिँडेका हामी ठाउँठाउँमा सुरक्षा जाँच गराउदै राति डोटीको दिपायल पुग्यौ । हाम्रो बास सिलगढीमा तय भएको थियो । राति सिलगढी जानका लागि सुरक्षा निकायको अनुमति आवश्यक थियो । मैले एउटा टेलिफोन बुथबाट डोटीका सिडियोलाई फोन गरे । उनले सिलगढी जान पाउने अवस्था नरहेको बताए । त्यही क्रममा किशोर सरले मेरो हातबाट फोन खोसेर “म किशोर नेपाल हुँ, मेरो टीम सिलगढी आउन चाहन्छ” भनेपछि मात्र सिलगढी जाने अनुमति पायौं ।

दोस्रो दिन हामी जीपमा अछामको साँफेबगर पुग्यौ । त्यहाँ जीप राखेर राखेर हामी उकालीओराली गर्दै राती मंगलसैनको फेदमा रहेको कैलाश खोलाको तिरमा रहेको सानो बजारमा पुग्यौं । त्यो रात त्यहीँ बसेर हामी अर्को दिन हामी एकोहोरो ठाडो उकालो चढेर दिउँसो मंगलसेन पुग्यौ । त्यही दिन हामीले मंगलसेनमा मतअभिमतका लागि छायाङ्कन गर्यौं । कार्यक्रममा निकै भीड थियो । सबै मान्छे आआफ्ना कथाव्यथा व्यक्त गर्न आतुर देखिन्थे । सहभागी शिक्षक, गाविस सचिव, स्वास्थ्यकर्मी, सर्वसाधारणले टेलिभिजनको अगाडि माओवादी आतंकबारे गुनासा र आक्रोस व्यक्त गरेका थिए । सदरमुकाममा नै कार्यक्रम भएकोले होला, सहभागीहरुबाट सुरक्षा निकायबारे भने कम गुनासा व्यक्त भएका थिए ।

देशभर परिचित किशोर नेपाल सहितको पत्रकारको टीम आएपछि हरेक ठाउँमा स्थानीहरु हौसिएका थिए । उनीहरु आफ्ना पीडाव्यथा पोख्न पाइने भयो भनेर उत्साहित थिए । ०५८ साल फागुन ४ गते मंगलसैन र साँफेमा माओवादीले भिषण आक्रमण गरेपछिको त्रास निकै पछिसम्म कायम थियो । मेरो लागि खुसीको कुरा मसित क्याम्पस पढेका निकै मिल्ने साथी कमल खड्कासंग मंगलसेनमा निक्कैपछि भेट भयो । उनी गाविस सचिव थिए ।

मंगलसेन जाने र फर्किने क्रममा बाटोमा फाटफुट रुपमा सर्वसाधारण भेटिन्थे, तर कोही पनि हामीसित कुरा गर्न तयार हुँदैन थिए । सर्वसाधारणमा नयाँ मान्छेसित कुरा गर्यौं भने सुरक्षा निकाय र माओवादीबाट समस्या हुन्छ कि भन्ने त्रास देखिन्थ्योे ।
मंगलसेनबाट फर्किएर अर्कोदिन हामीले साँझ अछामको बयलपाटा बजारमा मैनवत्ती र लालटेन बालेर मतअभिमत कार्यक्रम छायाङ्कन गरेका थियौ ।

त्यहाँ पनि माओवादी र सुरक्षा निकायको दोहोरो त्रासका कारण कार्यक्रम गर्न गाह्रो भयो । तर त्यही जन्मिनु भएका र कहलिएका वरिष्ठ पत्रकार मनमोहन स्वाँर पनि हामीसंगै रहनु भएकोले कार्यक्रम गर्न सहज भयो ।

हामी फर्केर कैलालीको भजनीमा मतअभितम कार्यक्रमका लागि आइपुग्यौं । त्यहाँ पनि सुरक्षाकर्मीबारे कम गुनासा व्यक्त भएका थिए । नजिकै राज्यको सुरक्षा क्याम्प थियो । गज्जव त के भयो भने हामी त्यहाँ होटल नभएकोले कृषि विकास वैंकको आवासगृहमा बसेका थियौ । त्यहाँ चन्द थरका कार्यालय प्रमुख थिए । उनी किशोर सरलाई भेट्दा दङ्ग परेका थिए । “बाफ रे यस्तो भगवानलाई प्रत्यक्ष भेट्न पाएँ” उनले निकै चोटी दोहोराएका थिए ।

मंगलसेनबाट फर्किने क्रममा मैले किशोर सरसित धेरै प्रश्न गरे । त्यस्ता प्रश्न सायद अरु कसैले उहाँसित गरेका छैनन् होला । उहाँले सबै प्रश्नको मज्जाले जवाफ दिनुभयो । ती प्रश्नले सम्बन्ध बिग्रन्छ कि भन्ने पनि लागेको थियो, तर अझ प्रगाढ बन्यो ।

०६२ सालतिर होला उहाँ कान्तिपुर पब्लिेकेशन्सको नेपाल साप्ताहिकमा सम्पादकका रुपमा जानुभयो । उहाँ त्यहाँ रहुन्जेसम्म मलाई धनगढीबाट लामालामा समाचार लेख्ने अवसर मिल्यो । त्यस्तै, उहाँले नै चलाएको यो साता नामको साप्ताहिक पत्रिकामा पनि काम गर्ने अवसर पाए ।

मैंले मात्र होइन नेपालका धेरै अग्रज पत्रकारले किशोर सरकोे पत्रकारिताको निकै तारिफ गरेको पाइन्छ । मेरो लेखन क्षमतामा महत्वपूर्ण प्रभाव पार्ने पत्रकारिताका प्रशिक्षक मोहन मैनालीले धेरै तालिममा भन्नुहुन्छ– शब्द प्रयोग र लेखनमा किशोर नेपाल सबैभन्दा अगाडि छन् ।

नेपालका प्रायः सबै छापा माध्यममा काम गरेर ती मिडियालाई डोर्याउनु भएका, पत्रकारितामा सँधै नयाँ नयाँ प्रयोग गर्न सफल तथा टेलिभिजन पत्रकारितामा पनि नयाँ छाप छोड्न सक्नु भएका, धेरै पत्रकारका गुरु, र साहित्यकार समेत रहनु भएका बहुआयामिक विराट प्रतिभासंग जोडिन पाउनु मेरो लागि निकै गौरवको विषय हो ।

हो, कतिपय बेला म उहासँग रुष्ट पनि हुनपुगे । यद्दपि, उहाँप्रतिको श्रद्धा र सम्मान कहिल्यै कम भएन । र, आगामी दिनमा पनि हुने कुरै छैन ।

धेरैले मान्छे नभएपछि मात्र प्रशंसा गर्छन । म भने उहाँ रहँदै उहाँको ठूलो प्रशंसा गर्छु । केही कमीकमजोरी भए पनि सायद उहाँ जत्तिको पत्रकार फेरि हाम्रो भूमिमा जन्मिनु मुस्किलै पर्ला । हक्की र कोहीसित नडराउने लागेको लेख्न सक्ने किशोर सरलाई गायकमा स्वरसम्राट नारायण गोपाल, कविमा महाकवि देवकोटा जस्तै पत्रकारिताका हिसाबले त्यस्तै कुनै विशेषणबाट सम्मान गर्नुपर्छ भन्ने पनि मलाई लाग्छ ।
७० औं जन्मदिनको लाखौलाख शुभकामना सर ।