नयाँ मन्त्री थप्ने प्रस्ताव विवादमा, देउवा ‘ब्याक’ - रुपान्तरण
 २०८१ बैशाख १५, शनिबार    

नयाँ मन्त्री थप्ने प्रस्ताव विवादमा, देउवा ‘ब्याक’


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फिर्ता गर्ने र नयाँ मन्त्री थप्ने प्रस्ताव विवादमा परेको छ । नयाँ मन्त्रीको लिष्ट अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाए पनि देउवाले त्यसलाई इन्कार गरेका छन् ।

बजेटका विषयमा छलफल चलिरहेका बेला मन्त्री हेरफेर गर्नु सान्दर्भिक नभएको भन्दै देउवाले अध्यक्ष नेपालको प्रस्ताव इन्कार गरेपछि अन्योलता सिर्जना भएको छ । आइतबार बिहान देउवा र अध्यक्ष नेपालबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने सहमति भए पनि देउवा पछि हटेका छन् । वहालवाला मन्त्रीहरुको दबाबका कारण उनी पछि हटेको बुझिएको छ । तर एकीकृत समाजवादीका नेताहरुले आफ्नो पार्टीको निर्णय अनुसार मन्त्रीहरु हेरफेर गर्ने अधिकार आफ्नो पार्टीको भएकाले प्रधानमन्त्रीले इन्कार गर्न नमिल्ने बताउँदै आएका छन् । देउवाले भने सत्ता गठबन्धनमा समस्या आउने र बजेटलाई मुख्य कारण देखाएका छन् ।

अध्यक्ष नेपाल नयाँ मन्त्रीहरूको नाम बोकेर आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए । उनले नयाँ मन्त्रीहरुको नाम बुझाएका थिए । मन्त्री फेरिनु नियमित प्रक्रिया भएको उनको प्रतिक्रिया थियो । देउवा सरकारमा अहिले एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्रीमा भवानी खापुङ थिए। उनीहरु आठ महिनादेखि मन्त्री थिए । यस पटक खापुङ बढुवा गर्ने निर्णय भएको थियो ।

एकीकृत समाजवादी सचिवालय स्रोतका अनुसार सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ र श्रम तथा रोजगार मन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम सिफारिस भएको थियो ।

"