काठमाडौंको फोहोरमैला बन्चरेडाँडामै - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

काठमाडौंको फोहोरमैला बन्चरेडाँडामै


काठमाडौं । स्थानीय निर्वाचन अघि देखिनै काठमाडौंमा फोहोरको थुप्रो लाग्न थालेको हो । तर काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका बालेन्द्र साहका लागि फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौति बन्यो । महानगर प्रमुखका रुपमा पदभार ग्रहण गरेदेखि फोहोर व्यवस्थापनको चुनौति सामना गरेको उनले प्रधानमन्त्रीदेखि विभिन्न मन्त्रीहरुसँग हारगुहार नै गर्नुपर्ने अवस्था आयो ।

शीर्ष नेता, प्रधानमन्त्री शेरबहादुर देउवादेखि सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई समेत भेटेर समस्या समाधानको पहल गरेका साहका लागि शुक्रबार भने केही राहत महशुस भएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयहरुको अवरोधका कारण फोहोरमैला व्यवस्थापन हुन नसक्दा काठमाडौं दुर्गन्धित बन्दै गएको थियो । तर शुक्रबार निर्वाध रूपमा फोहोरको विसर्जन भएको छ । सहमतिअनुसार स्थानीयले अवरोध नगरेपछि आजमात्र १५३ ट्रक फोहोर खसालिएको छ ।

काठमाडौं महानगर, सहरी विकास मन्त्रालयसहित सरोकावालासँग विभिन्न चरणमा भएका वार्तापछि स्थानीय फोहोर विसर्जन गर्न दिन राजी भएका हुन् । बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्दा प्रभावित हुने जग्गा यकिन गरी अधिग्रहण सुरू गर्न सहरी विकास मन्त्रालय र संघर्ष समितिबीच सहमति भएपछि काठमाडौंको फोहोर उठ्न थालेको हो । जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गर्न तत्काललाई आगामी आर्थिक वर्षकै बजेटमा पाँच अर्ब रूपैयाँ छुट्टयाउने भनिएको छ।

महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने र नकुहिने फोहोर मात्र डम्पिङ साइटमा विसर्जन गर्ने भनेको थियो। तर उक्त भनाइप्रति बन्चरेडाँडाबासी विश्वस्त थिएनन् । जसका कारण साइडमा झडप समेत भइरहेको थियो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच १८ बुँदे सहमति बनेपछि अवरोध हटेको हो ।

फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन समेत हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै समस्या समाधान गर्न सकिने बताइन् ।

शुक्रबार बिहान मन्त्रालयमा सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग गरिएको छलफल कार्यक्रममा मन्त्री झाक्रीले फोहोरमैला व्यवस्थापनको लागि बलियो संयन्त्र बनाउनुपर्नेमा जोड दिएकी हुन् । मन्त्री झाक्रीले भनेको समितिको संयोजकको लागि नेकपा एमाले सांसद रामवीर मानन्धरले इच्छा व्यक्त गरेका छन् । संसदमा बोल्दै सांसद मानन्धरले काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा आफूलाई दिन आग्रह गरेका हुन् । आफ्नै अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति गठनको प्रस्ताव गरेका हुन् ।