गठबन्धनलाई निरन्तरता दिएर दुई तिहाई सिट जित्ने लक्ष्य - रुपान्तरण
 २०८१ बैशाख १२, बुधबार    

गठबन्धनलाई निरन्तरता दिएर दुई तिहाई सिट जित्ने लक्ष्य


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी प्रदेश र सङ्घ निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिई दुई तिहाई गठबन्धनको सिट जिताउन आवश्यक रहेको बताएका छन् ।

गठबन्धन बिथोल्न विभिन्न शक्तिहरु सुरुदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले दुई तिहाई सिट जितेमात्र संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्न सकिने बताए ।

काँग्रेसले निर्वाचनमा ठूलो पार्टी बन्नका लागि मात्रै पाँच दलीय गठबन्धन नगरेको स्पष्ट पारे । काभ्रेको बनेपामा शुक्रबार भएको जनप्रतिनिधीको बधाई तथा सम्मान कार्यक्रममा खड्काले आफ्नो धारणा राखेका हुन् । खड्काले स्थानीय तहको निर्वाचनबाट देशभर कांग्रेसको जनमत बढेको र पहिलो पार्टी बन्न सफल भएको बताए ।

काँग्रेस एक्लैको चाहनाले मात्रै पाँच दलीय गठबन्धन नबनेको चर्चा गर्दै खड्काले भने, ‘लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको हो ।’ उपसभापति खड्काले कांग्रेसको तर्फबाट विजयी भएका जनप्रतिनिधीले हरेक दिन गर्ने निर्णय तथा सेवाग्राहीलाई गर्ने व्यवहारले आगामी निर्वाचनमा कांग्रेसको मत बढ्ने र घट्ने कुराको निर्धारण हुने बताए ।

कार्यालयका कामको सिलसिलामा आउने सेवाग्राहीले आफु हेपिएको, नराम्रो व्यवहार भएको र अपमानित भएको महसुस भएको खण्डमा जनप्रतिनिधीप्रति जनताको हेर्ने दृष्टिकोण फरक हुने उनले सुझाव दिए ।

कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कांग्रेसका तर्फबाट नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदमा निर्वाचित भएका ३१५ जनप्रतिनिधीलाई सम्मानित गरिएको छ ।

"