सहकारीको रोजगारी भरपर्दो र मर्यादित हुन सकेन - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

सहकारीको रोजगारी भरपर्दो र मर्यादित हुन सकेन


काठमाडौं । श्रम ऐन, नियमावली तथा सामाजिक सुरक्षा क्षेत्रका सेवा सुविधा तथा पारिश्रमिक सहकारी क्षेत्रमा काम गर्ने कर्मचारीले पाउन नसकेको बताइएको छ । सोही कारण सहकारी क्षेत्रको रोजगारी भरपर्दो र मर्यादित समेत हुन नसकेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले बताएका छन् ।

आईतबारबाट काठमाडौंमा सुरु भएको चौथो साकोस शिखर गोष्ठी २०७९ मा कार्यपत्र प्रस्तुत गर्दै थपलियाले दिगो विकास लक्ष्य प्राप्त गर्न पनि श्रम मर्यादित हुनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए । ‘मर्यादित काम र दिगो आर्थिक विकास’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै थपलियाले कर्मचारीले पाउनुपर्ने परिश्रमिक न्यून हुँदा रोजगारी केका लागि? भन्ने प्रश्न उठेको बताए ।

‘सहकारी क्षेत्रमा श्रम अडिट समेत हुन सकेको छैन’, उनले भने । आन्तरिक रोजगारी सिर्जना हुन नसक्दा दैनिक १ हजार ५ सय युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको बताउँदै थपलियाले सहकारीले रोजगारी सिर्र्जना गर्ने प्रशस्त ठाउँ रहे पनि सहकारीबाट अपेक्षाकृत रोजगारी सिर्जना हुन नसकेको बताए ।

शिक्षण संस्थाबाट बेरोजगार उत्पादन भएको भन्दै रजिष्ट्रार थपलियाले सहकारी र उद्योगसँग सहकार्य गरेर आवश्यक जनशक्ति तयार गरिनुपर्ने बताए । सहकारीले सीप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्न ध्यान नदिएको समेत उनले गुनासो गरे ।

कार्यपत्रमा टिप्पणी गर्दै डा. नरेन्द्र राज पौडेलले सहकारी आफैमा मर्यादित हुन नसकेको बताए । च्याउसरी उमे्रका सहकारीले समस्या सिर्जना गरेको समेत उनको भनाई थियो । ‘भोको पेटको सहकारीबाट आर्थिक सम्मृद्धि हासिल गर्न सकिन्न’, उनले भने । श्रम शोषण हुँदा युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको उनको भनाई थियो । यान्त्रिक विधिबाट मात्रै मर्यादित पेशा हुन नसक्ने उनको दाबी थियो ।

त्यस्तै अर्का टिप्पणीकर्ता नेपाल कृृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारीले सदस्य तथा कर्मचारीको जीवनस्तर सुधार गरेको बताए । ‘सहकारीले गरेको राम्रो कामको प्रचार प्रसार हुन सकेको छैन’, उनले भने, ‘सहकारीले राउटे, वन करियाजस्ता समुदायको उत्थान गरेको छ ।’ सहकारीमार्फत उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरण गरी आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले अध्यक्षता गरेको सत्रमा सहकारीकर्मी अनिता कोइराला, सरु राणा, भेषराज बडालगायतले सहकारीमा मर्यादित श्रम र यसबाट आर्थिक सम्मृद्धि हासिल खासै हुन नसकेको गुनासो गरे । युवाहरु रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान बाध्य भएको र उद्योग तथा सहकारीले दक्ष जनशक्ति नपाएको भन्दै रजिष्ट्रार थपलियाले विश्वविद्यालयले सहकारी, उद्योगलाई चाहिने जनशक्ति उत्पादन गर्न क्रियाशील रहेको बताए ।