नयाँ रणनीतिमा एमाले - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

नयाँ रणनीतिमा एमाले


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नयाँ रणनीति बनाउन जुटेको छ । स्थानीय निर्वाचनको परिणामपछि एमाले नयाँ रणनीति बनाउन कस्सिएको हो । सोही सिलसिलामा केन्द्रीय सचिवालय बैठक सोमबार बस्ने र बैठकबाट नयाँ रणनीतिको प्रारुप तयार गर्ने बताइएको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएको छ । उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेश हुँदैछ । आइतबार बसेको नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठकले चुनावी समीक्षा लगायतका एजेन्डा तय गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली ले आगामी संघ र प्रदेश निर्वाचनलाई केन्द्रीत गरेर प्रभावकारी रणनीति बनाउन निर्देशन दिइसकेका छन् । स्थानीय निर्वाचनबाट सानो आकारमा खुम्चिएको एमालेले मुख्यतय तीन वटा एजेन्डालाई रणनीतिका रुपमा अघि सार्ने तयारी गरेको छ । पार्टीको आन्तरिक समीकरण र भूमिका हेरफेर गर्ने, सत्ता पक्षको गठबन्धन भत्काउने एमालेको अर्को महत्वपूर्ण रणनीति रहेको बुझिएको छ । यदी गठबन्धन भत्काउन नसके साना दलहरुलाई समेटेर चुनावी गठबन्धन तयार गर्ने अध्यक्ष ओलीको रणनीति रहेको छ ।

संसदीय निर्वाचनमा जानुअघि वाम गठबन्धन बनाउन कतिपय नेताले ओलीलाई सुझाव दिए पनि त्यो तत्काल संभव देखिएको छैन । तर सत्ता पक्षका केही बाम नेताहरुलाई आफ्नो पोल्टामा तान्न एमालेले कसरत गरिरहेको छ । संघ र प्रदेशको निर्वाचनबाट कमजोर नतिजा निकालेर प्रतिपक्षीको भूमिकामा बस्नुपरे सरकारमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख–उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष, प्रदेशमा पनि सबै मुख्यमन्त्री गुमाउनुपर्ने अवस्था आउन सक्ने भएपछि एमाले गम्भीर समिक्षामा जुटेको छ ।

बाम गठबन्धन बनाउने केही नेताको इच्छा रहे पनि एमालेभित्रकै प्रभावशाली नेताहरुले गठबन्धन बनाउन अस्वीकार गरिरहेकाले अध्यक्ष ओली धर्म संकटमा देखिएका छन । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र दसबुँदे सहमतिमार्फत एमालेमा रहेका नेताहरू वाम गठबन्धनको पक्षमा छन् ।

एमालेले चुनाव भएका ७ सय ५२ पालिकामध्ये २ सय ५ वटा पालिकामा प्रमुख जितेको थियो । बैठकमा एमालेको गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण तथा समसामयिक विषयमा पनि छलफल गरिने जनाइएको छ। आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगको सिफारिसका विषयमा भने छलफल नभएको नेताहरूले बताएका छन् ।