प्रचण्डले आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर नयाँ क्रान्ति गर्ने - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

प्रचण्डले आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर नयाँ क्रान्ति गर्ने


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणका लागि फेरि अभियान चलाउने बताएका छन् । उनले अब काठमाडौं भन्दा बाहिर रहेर अभियानमा बस्ने सोचमा रहेको बताउँदै एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने संकल्प गरेका हुन् ।

विहीबार काठमाडौंमा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताए ।

विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको सुनाउँदै उनले भने, ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।’

प्रचण्डले आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने सोच रहेको बताउँदै नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेकाले त्यसलाई सुधार गर्दै अघि बढ्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उल्लेख गर्दै भने, ‘अब आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा छु ।’ माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेको सुनाउँदै प्रचण्डले उमेर ढल्किदै गएपनि आफू चुप लागेर नबस्ने बताए ।

देश भित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई कुल्चिने दुस्साहस गरेका कारण आफु चिन्तित र आक्रोशित भएको पनि प्रचण्डले बताए । उनले राष्ट्रिय स्वाधिनताको लडाँइ पूर्ण नभएकाले स्वाधिनताको लडाइँ लड्न बाँकी रहेको बताए ।