मंसिरको पहिलो साता निर्वाचन - रुपान्तरण
 २०८१ बैशाख २०, बिहीबार    

मंसिरको पहिलो साता निर्वाचन


काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको तयारी थालेको छ । सरकारले आधिकारीक रुपमा चुनावको मिति नतोके पनि आयोगले आफ्नो तयारी थालेको हो । आयोगले मतदाता नामावली संकलन शुरु गरेसँगै निर्वाचनको तयारी थालेको हो ।

आउँदो कात्तिक मसान्त वा मङ्सिरको पहिलो सातासम्ममा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने गरी सरकारलाई मिति घोषणाका लागि आयोगले आग्रह पनि गर्ने जनाएको छ । नेपालको संविधान जारीपछिको दोस्रो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि आयोग र नेपाल सरकारसँग परामर्श भइरहेको जनाइएको छ । ती निर्वाचनका लागि लक्षित गरेर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक आउँदो असार १ गतेदेखि खुला गरिएको छ ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको पाँच वर्षे अवधि मङ्सिर पहिलो साता सकिँदैछ । दुई पटकक विघटन भएर पनि सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभाको कार्यकाल सकिने भएपछि सरकार र आयोग आवश्यक तयारीमा जुटेका छन् ।

आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले निर्वाचनको मिति घोषणाका लागि नेपाल सरकारसँग औपचारिक र अनौपचारिक छलफल भइरहेको जानकारी दिए । उनले निर्वाचनको मिति घोषणा कम्तीमा १२० अगाडि नै हुने गरी गराउन आयोगले सरकारलाई आग्रह गरेको जनाउँदै मतदाता नमावलीमा नामावली नदोहोरिने गरी नाम दर्ता र संशोधनका लागि सम्बन्धित निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयमा आवश्यक प्रबन्ध गरिएको बताए । नेपालको संविधानमा आयोगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने हुँदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ ।

निर्वाचनमा मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य भएकाले आयोगले नयाँ नाम दर्ता र अद्यावधिकका लागि पुनः समय दिएको छ । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अगाडि २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेकाका लागि मतदानमा भाग लिन सकिने गरी सो निर्वाचनअगावै नामावली सङ्कलन र अद्यावधिक कार्य खुला गरिएको थियो । सो निर्वाचनमा नयाँसहित एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए ।

आयोगले अब हुने निर्वाचनका लागि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने, पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने र मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने तय गरेको छ ।