शंकाको घेरामा देउवाको अमेरिका भ्रमण - रुपान्तरण
 २०८० चैत्र १५, बिहीबार    

शंकाको घेरामा देउवाको अमेरिका भ्रमण


काठमाडौं । नौ वटा कम्युनिस्ट दललेप्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न भनिरहेका बेला देउवाले भ्रमणबारे प्रष्ट पारेका छन् । उनले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने प्रतिबद्धता समेत गरेका छन् ।

बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताएका हुन् । बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताए ।

बैठकमा देउवाले एसपीपी पहिलेदेखिकै चर्चाको विषय भएको उल्लेख गरेका थिए । मुलुकको हितमा नहुने सम्झौता नगर्ने प्रधानमन्त्रीले बताएको बैठकमा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।

गठबन्धनको बैठकमा प्रधानन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी थिए ।

यता, देउवाको अमेरिका भ्रमण रद्ध गर्न नौ वटा कम्युनिस्ट दलले माग गरेका छन् । नेकपा–क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा देउवबाट राष्ट्रघाती सम्झौताहरू हुन सक्ने भन्दै उनको भ्रमण रद्ध गर्न माग गरेका हुन् ।

राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग गरिएको छ । विज्ञप्तिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप एकाएक बढेको र त्यसको सहजकर्ता देउवा भएको उल्लेख छ । गठबन्धनका अन्य दलहरू पनि अमेरिकी हस्तक्षेपको विरोध गर्नुको सट्टा चाकडी गर्नमा व्यस्त रहेको आरोप लगाइएको छ ।

एमपीसीकै विषयमा विभिन्न क्षेत्रबाट प्रश्न उठेपछि कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले ्एसपीपीबारे संसदमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकको शुरुआतमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले यसबारे सरकारको जवाफ मागे लगत्तै बोलेका थापाले केही दिनदेखि संसदमा यसबारेमा चर्चा चलिरहेको र प्रधानमन्त्रीले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेकाले तत्काल संसदमा आएर स्पष्ट पार्न आग्रह गरेका हुन् ।

 देउवाले असार अन्तिमतिर अमेरिका भ्रमण गर्ने तयारीमा जुटेका छन् । नेपालको सरकार प्रमुखबाट दुई दशकपछि अमेरिका भ्रमण हुन लागेको हो । यसअघि देउवाले नै २०५९ वैशाख २३–२८ मा प्रधानमन्त्रीका रूपमा अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । नेपाल–अमेरिका ७५ वर्षगाँठको अवसरमा दुवै पक्षको सहमतिअनुसार प्रधानमन्त्री देउवाको भ्रमण हुन लागेको हो । 

"