विश्वकप फुटबल खेल्ने ३२ देशको टुंगो - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

विश्वकप फुटबल खेल्ने ३२ देशको टुंगो


काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागेको छ । मंगलबार राति न्युजिल्याण्डलाई हराउँदै कोस्टारिकाले विश्वकपमा स्थान बनाएसँगै सबै ३२ टोलीको टुंगो लागेको हो ।

विश्वकप छनोट अन्तर्गत अन्तर महादेशीय छनोटको प्ले अफमा न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । उद्घाटन खेल समूह ए मा रहेका नेदरल्याण्ड र सेनेगलबीच हुनेछ ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्र छनोट हुँदा एसियाबाट पहिलो पटक ६ राष्ट्रले विश्वकप खेल्दैछन् । अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ राष्ट्र विश्वकपमा छनोट भएका छन् ।

समूहगत विभाजन अनुसार समूह एमा कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर छन भने समूह बीमा इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स परेका छन् । समूह सी मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया साथै समूह डी मा फ्रान्स, डेनमार्क, ट्युनिसिया,अष्ट्रेलिया छन् ।

समूह ई मा स्पेन, जर्मनी, जापान, कोस्टारिका रहँदा समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समावेश छन् । समूह जीमा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन रहँदा समूह एचमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना समावेश छन् ।

विश्वकप खेल्ने ३२ राष्ट्र

युरोप
फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स

एसिया
कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अष्ट्रेलिया

दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

अफ्रिका
घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

उत्तर तथा मध्य अमेरिका
क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका