एसपीपीबारे भ्रम फैलाइँदैछ - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

एसपीपीबारे भ्रम फैलाइँदैछ


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको आरोप लगाएका छन् ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूका लागि काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर प्रचण्डले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताए ।

‘एसपीपी केपी ओलीले नै ल्याएको थियो भनेर अहिले भ्रम फैलाइँदैछ,’ उनले भने, ‘म तपाईहरूलाई दिनदिनांक भनिदिन चाहन्छु यहाँ, कुनै भ्रम राख्नु हुन्न कमरेडहरू, नेकपा एमाले यस्ता कुराहरुमा सदैव सचेत छ ।’

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको सो प्रोग्राम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई दाहालले झूट र बेइमानीपूर्ण गरेको स्पष्टिकरण दिएका हुन् ।

२०७२ साल असोज ६ गते तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्री रहेका कोइरालाले मन्त्रीस्तरीय निर्णय गराएर सो प्रक्रिया अघि बढाएको र सोही अनुसार तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदुतलाई पत्राचार गरेको ओलीको भनाई थियो । तर त्यो पत्रचारबारे आफूलाई कुनै पनि जानकारी नआएको अध्यक्ष ओलीले बताए ।

२०७४ साल बैशाख २४ गते दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति क्षेत्रीले सो प्रोग्राममा हामीलाई सहभागी गराउनपर्‍यो भनेर अमेरिकी सेनाको प्यासेफिक कमाण्डलाई पत्राचार गरेको तथ्य नबिर्सन पनि सचेत गराए ।

अध्यक्ष ओलीले सो कुरा थाहा पाएपछि आफू नेतृत्वको सरकारले परराष्ट्र सचिवको नेतृत्वमा १ जुन २०१९ मा छानवीन समिति गठन गरी अस्वीकार गरिदिएको सो विषय उठाएर गठबन्धन सरकारले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाए ।

अध्यक्ष ओलीले आफू र आफ्नो पार्टी राष्ट्र र राष्ट्रियताको सवालमा सदैव सचेत रहेको उल्लेख गर्दै अरुले फिँजाएको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

"

"