एसपीपीको विरुद्धमा टोपबहादुर - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

एसपीपीको विरुद्धमा टोपबहादुर


काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका छन् । उनले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि सुनाए । उनले भने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ बाहिर आईसकेको छैन् । अमेरिकाको प्रस्ताव हो कि नेपालको आँफैले प्रस्ताव गरेको हो कि ? को–को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै बास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौं । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । उनले भने,‘सामान्य रुपमा हेर्दा २०७२ मा नेपालमा महाभुकम्प गएको बेलामा प्रस्ताव राख्ने काम भएको देखिन्छ । त्यतिवेला अहिले आएकोजस्तो मस्यौदा त्योस्तरको थिएन होला भन्ने नै मलाई लाग्छ । विपद्को लागि सहयोग मागिएको हो जस्तो लाग्छ, त्योपनि अहिले डिटेलमा छलफल र धारणा राख्न अपुरो हुन्छ । सुशिल कोइराला प्रधानमन्त्री हुँदा त्यो भएको हो भन्नेपनि छ । त्यसपछि केपी ओली प्रधानमन्त्री हुनुभयो, उहाँ प्रधानमन्त्री भएको १५ दिनपछि प्रधानसेनापतिले पत्राचार गरेको भन्नेछ । केपी ओलीले त सुशील कोइरालाको पालामा निर्णय भएको थियो, मलाई थाहा दिईएन । मैले हस्ताक्षर गरेको छैन् भन्नुभएको छ । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड हुँदा पनि पत्राचार गरियो भन्ने छ । पछिल्लो चरणमा जे चाहीँ मस्यौदा प्रस्ताव हेर्दा, हामीले यतिवेला त्यो विषयलाई अध्ययन गर्दा, यद्धपी त्यो प्रस्तावको रुपमा छ । त्यो प्रस्ताव राष्ट्रिय, राष्ट्रियता, शान्ति र सु–व्यवस्थाको पक्षमा छैन् । आज सबै दलहरु, जहाँ–जहाँ जसको पालामा, जुनस्तरको प्रस्ताव गएको भएपनि, ज–जसको पालामा सम्झौता भएपनि सम्पूर्ण दलहरु, नेपाली कांग्रेसले पनि यसलाई अघि बढाउन हुन्न भनेको छ । यस विषयमा आम सहमतिजस्तो देखिन्छ । यो खुशीको कुरा हो । त्यो प्रस्ताव हेर्दा ज्यादै नै राष्ट्रघाती देखिन्छ । सबै पार्टी पास गर्नुहुन्न भन्नेमा आम सहमत छन् ।’

अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । उनले भने,‘राजनीतिक दलहरु, जो चुकेको भएपनि, जानेर वा नजानेर भएपनि यो गलत थियो भन्ने विषय अब समिक्षाको विषय बन्नुपर्छ । संसदीय समितिले डिटेल माग गरेको छ । अब दलहरुले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी छ । यद्धपी हाम्रा विचार फरक छन् । राजनीति र कार्यक्रम फरक छन् । तर, हाम्रो लक्ष्य एउटै हो–त्यो भनेको देशलाई समृद्ध बनाउने हो । अनि सुशासन कायम गर्ने हो । यसको लागि दलहरु बेलाबखतमा सँगै बसेर छलफल गर्नुपर्छ ।’

रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राखे । उनले भने,‘यसो गर्दा देशले समृद्धि पाउँदैन् । सुशासन पाउन्न । विकास र समृद्धिको कमन एजेण्डामा छलफल गर्नुपर्छ । जसरीपनि सरकारमा जाउँ, जोसित पनि मिलेर जाउँ भन्ने प्रवृत्ति देखिएको छ, यो त्यति उचित होइन् । अहिले देशमा समाजवादमा कसरी पुग्न सक्छौं भन्नेतर्फ कम चर्चा भएको छ । सत्ता प्राप्तिको लागि जस्तोप्रकारको गठबन्धन पनि गर्ने, जस्तो प्रकारको सम्झौता पनि गर्ने काम भएको छ । तर, राष्ट्रियता र समृद्धिको पक्षमा कम चर्चा छ । यो विषय गौण बनाईएको छ । एसपीपी अस्विकार गर्नुपर्छ । यो राष्ट्रको हितमा छैन् ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे टिप्पणी गर्न आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘उहाँ अब कुन एजेण्डा बोकेर जाँदैहुनुहन्छ, भित्री रुपमा एसपीपी बोकेर जाने हो भने त्यो सान्दर्भिक देखिँदैन् । तर, उहाँको एजेण्डा थाहा नभएकोले खासै टिप्पणी गर्नुपर्ने आवश्यक छैन् ।’

उनले एसपीपीको विषय सबैभन्दा धेरै आफ्नो पार्टीले उठाएको दाबी गरे । हिजोमात्रै पनि अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा प्रष्ट पारेको रायमाझीले सुनाए । उनले भने,‘कसको पालामा अघि बढाईएको हो, यो अध्ययनको विषय हो । ०७२ को कुरा गर्दा म पनि उपप्रधानमन्त्री र उर्जामन्त्री थिएँ । सायद भीम रावल रक्षामन्त्री हुनुहुन्थ्यो होला, ओली सरकारलाई थाहा थिएन । तथ्य हो भने पुष्टि गर्न ओलीले चूनौति दिनुभएको छ ।’