एसीसी महिला टी–२० क्रिकेटमा नेपालको दोस्रो जित - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

एसीसी महिला टी–२० क्रिकेटमा नेपालको दोस्रो जित


काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनशिप क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ । किन्रारा ओभलमा शनिबार भएको खेलमा कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

यो जितसँगै नेपालले कुवेतविरुद्ध भएका लगातार तीन भेटमा जित हासिल गरेको छ । च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनशिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनशिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।