विदेशमा रहेका नेपालीलाई मताधिकारका लागि प्रयास - रुपान्तरण
 २०८१ बैशाख ७, शुक्रबार    

विदेशमा रहेका नेपालीलाई मताधिकारका लागि प्रयास


काठमाडौं । नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । मंगलबार पार्टीको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गराएका हुन् ।

विदेशमा रहेका नेपालीहरूले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुग्नुभएका महामन्त्री थापाले कानूनमा भएको व्यवस्थामा कम्तिमा पनि ५ ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए ।

थापाले कानूनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीहरूको नाम पनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८र१० दिन भित्रमा निर्वाचन ऐनको विषय संसदमा पेश गर्ने प्रतिवद्धता जनाए । महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नो भूमिका रहने बताए ।

थापाले सकेसम्म आगामी साउन १ गतेबाट नै नेपाल बाहिर रहेका नेपालीहरू नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताए । उनले विदेशमा रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा टिपाउनका लागि छलफल शुरु गर्ने बताए ।

महामन्त्री थापाले बुधबारबाट काठमाडौंमा स्थानीयका लागि छुट्टै मतदाता नामावली संकलन केन्द्र बनाइ बाहिरी जिल्लाका लागि फरक मतदाता नामावली संकलन केन्द्रको स्थापना गर्ने बारेमा छलफल भएको पनि बताए । उनले स्थानीय तहमा नै नामावली संकलन गर्ने कुरामा पनि छलफल भइरहेको बताए ।

महामन्त्री थापाले बाहिरी र काठमाडौंका सबैलाई एकै ठाउँमा मतदाता नामावली संकलनको कार्य गर्दा भीड भएकोले त्यसलाई मध्यनजर गरेर केही स्थानमा बाहिरी जिल्लाका लागि मतदाता नामावली संकलन कार्यालय बनाइने पनि बताए ।

थापाले निर्वाचनलाई निर्माण गरिने आचारसंहिता कसैले पनि मान्ने नगरेको उल्लेख गर्दै सबैले मान्ने किसिमको आचारसंहिता बनाएर कडाइका साथ लागू गर्नुपर्ने बारेमा पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग छलफल भएको बताए ।

आचारसंहीताको सन्दर्भमा अव्यवहारिक कुरालाई पहिल्यै हटाएर निर्वाचनलाई मितव्ययी बनाउने, प्रभावकारी बनाउने सन्दर्भमा पनि छलफल भएको उनले जानकारी दिए । उनले निर्वाचनको तोकिएको सीमाअनुसार खर्च हुने नगरेको भन्दै साँच्चिकै निर्वाचनको खर्च घटाउन गर्न सकिने कामको बारेमा छलफल भएको बताए ।

त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरूको मतदानको अधिकारसँग सम्बन्धित विषयमा छलफल भएको बताए । उनले विदेशमा रहेका नेपालीहरूले मताधिकारको प्रयोग गर्न पाउने कुरालाई निर्णयमा पुयाउनका लागि छलफल गरेको जानकारी गराए ।

महामन्त्री शर्माले नेपाल बाहिर रहेका ४० लाख नेपालीहरूको भावना गाँस्ने कुरालाई मध्यनजर गरेर यो काम अघि बढाइएको बताए । उनले विदेशमा बसेका नेपालीको भोट चल्ने दिन बनाउन यो काम थालिएको स्पष्ट पारे ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले मंगलबार निर्वाचन आयोग, नेपालका प्रमुख निर्वाचन आयुक्त थपलियासँग विदेशमा रहेका नेपालीहरूले पनि आगामी निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । महामन्त्री शर्माले भेटमा प्रमुख आयुक्त थपलियाले निर्वाचन ऐनलाई सच्याउने कुरामा संसदमा राजनीतिक दलहरूसँग समझदारी गरी पेश गर्न र पास गर्ने वातावरण मिलाइदिन आग्रह गरेको बताए ।