के चाहन्छन् झलनाथ खनाल ? - रुपान्तरण
 २०८१ बैशाख १३, बिहीबार    

के चाहन्छन् झलनाथ खनाल ?


काठमाडौं । स्थानीय तहको निर्वाचन परिणामपछि नेकपा (एकीकृत समाजवादी(का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल सन्तुष्ट छैनन् । मत परिणामपछि उनका अभिव्यक्तिहरुले नेकपा एसलाई विभाजनतिर लाने हो कि भन्ने आशंका पैदा गरेको छ ।

किनकी आफ्नो गृह जिल्ला इलाममा मत परिणाम आइसकेपछि गठबन्धन टुटाएर एमालेका उम्मेद्धारलाई जिल्ला समन्वय समितिको प्रमुखमा चयन गराएर नयाँ राजनीतिक ट्रन लिन खोजेको संकेत गरेका छन् । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठवन्धन नेतृत्व लिएको नेपाली कांग्रेसवाट धोका भएको खनालले आरोप लगाएका थिए । त्यस लगतै जिसस गठन समिकरणमा नेकपा एमाले र एसबीच तालमेल भएको थियो ।

यता नेकपा एस भने वडा तहदेखि गठवन्धन नहुँदा समस्या आए पनि प्रतिगमन विरुद्धको गठवन्धन नतोडिएको दावी गरिरहेको छ । १० वटा पालिका रहेको इलाममा एमालेका प्रमुख र उपप्रमुखमा १० जना निर्वाचित छन् । यसअघि सूर्योदय नगरपालिकाको कार्यपालिका गठनमा पनि एमाले र एसबीच तालमेल भएको थियो । स्थानीय तहको निर्वाचनमा १० पालिका मध्ये २ नेकपा एस र १ माओवादीलाई प्रमुख दिएर कांग्रेस चुनावमा उत्रिएको थियो । यसमध्ये पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा प्रमुख उनकै पार्टीकाले जितेका थिए भने माइजोगमाई गाउँपालिकामा एसका उम्मेद्वार पराजित रहेका थिए । त्यसपछि नेकपा एस र काँग्रेसबीच तिक्तता चुलिएको थियो ।

सरकार सञ्चालनमा मुख्य रुपमा रहेको नेकपा एसले स्थानीय तहमा कांग्रेसलाई उपयोग गरे पनि खनालको निर्देशनमा धोका दिने काम भएको इलाम कांग्रेस सभापति डम्वर खड्काले आरोप लगाएका छन् । ‘हामीले इमान्दारीपूर्वक मत हालेर उहाँहरुका उम्मेदवारलाई जिताए पनि अहिले खनाल र उनको पार्टीले गैर जिम्मेवार भूमिका प्रस्तुत गरेको छ ।’ यो विषयलाई केन्द्रमा समेत जानकारी दिइसकेको खड्काको भनाई छ । नेकपा एस भने स्थानीय तहको निर्वाचनमा वडातहदेखि नै गठवन्धन नहुँदा यो समस्या देखिएको वताउँछ ।

खनालले बुधबार पनि गठबन्धनले आफ्नो पार्टीको अपमान गरेको आरोप लगाउन भ्याएका छन् । बुधबार समाजवादी प्रेस संगठन नेपाल, जिल्ला शाखा काठमाडौंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले गठबन्धनकै कारण आफ्नो पार्टीले ल्याउनेजति सिट र मत प्राप्त गर्न नसकेको दाबी गरे ।

सम्मानित नेता खनालले अहिले नौ लाख मतदाता पार्टीमा रहेको भने पनि त्यो संख्या झन्डै २० लाख रहेको बताए । उनले अहिलेको स्थानीय तह सदस्य निर्वाचनमा प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै देशको हितको लागि नमूना काम गर्नुपर्ने बताए । गठबन्धनप्रति असन्तुष्ट रहेका खनालले केही समय अघि बाम गठबन्धनको संभावना पनि औंल्याएका थिए । उनी नेकपा एसको संस्थागत निर्णयप्रति असन्तुष्ट रहदै आएका छन् ।

विना संशोधन एमसीसी अनुमोदन भएपछि चर्को विरोध जनाएका खनाल आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा वाम–लोकतान्त्रिक नभएर वाम गठबन्धन गर्नुपर्ने पक्षमा खुलेका थिए । अब आउने चुनावमा पनि अहिलेकै गठबन्धन कायम राख्दा कांग्रेसले ठूलो सफलता पाउने, तर कम्युनिष्टहरूको अवस्था भने थप कमजोर भएर जाने खनालको विश्लेषण छ ।

त्यतिमात्र होइन खनाल यतिबेला केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु मन्त्रिपरिषद्मा पठाउन खोजिरहेका छन् । तर नेकपा एसका माधवकुमार नेपाल भने मन्त्री हेरफेर गर्ने पक्षमा छैनन् । त्यस्तै खनालकै प्रस्तावमा नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष भएका युवराज अधिकारीलाई सरकारले निलम्बन गरेपछि खनाल थप रुष्ट भएका छन् । कतिपय नेताहरुले निरन्तरको खनालको अभिव्यक्तिलाई ‘वार्गेनिङ’ पनि भनेका छन् ।