एकीकृत समाजवादी विवादको भूमरीमा - रुपान्तरण
 २०८१ बैशाख १४, शुक्रबार    

एकीकृत समाजवादी विवादको भूमरीमा


काठमाडौं । मन्त्रीहरु हेरफेरको विषयलाई लिएर नेकपा (एकीकृत समाजवादी)भित्र विवाद भएको छ । केही नेताहरुले विद्रोहको धम्की पनि दिएका छन् । जसको फलस्वरुप सरकारमा हाल भएका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले निर्णय परिपक्व नगरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

उनीहरुले बिहीबार बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

त्यस्तै संसदीय दलको बैठक बोलाउन माग गर्ने अन्य ६ जना सांसमा कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरु छन् । उनीहरुले नयाँ मन्त्रीहरुको टिम पठाउँदा सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्नसमेत माग गरेका छन् ।

तर अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरु हेरफेर भएरै छाड्ने भन्दै पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।

उनले शनिबारसम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताउनुभएको पनि जानकारी दिए ।

अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताए । उनले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष नेपालले विगतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बताए । एकीकृत समाजवादीले नेपाली काँग्रेस र माओवादी केन्द्रले विगतका गल्ती नदोहोयाओस् भन्नेमा जोड दिएको अध्यक्ष नेपालको भनाई थियो । नेकपा (एकीकृत समाजवादी) ले शनिबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।