वामदेव गौतम निष्कासित - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

वामदेव गौतम निष्कासित


काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई संयोजक पदबाट निष्कासन गरेको छ ।अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई संयोजकबाट हटाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रूपमा अघि बढाउने निर्णय गरेको थियो ।

शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।

तर उक्त अभियानबाट गौतमलाई हटाइएको समाचार गलत भएको सो अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले स्पष्ट पारेका छन् । पाण्डेले अभियानका सचिवालय सदस्य युवराज सफलले जिम्मेवारीबाट राजीनामा दिएको जानकारी पनि दिए ।

आरोपहरु

-सांगठनिक अराजकता, निरङकुश, तानाशाही शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको ।

-अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको ।

-जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको ।

-नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधि गरिएको ।

-सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।

"