माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)मा विवाद चर्कियो - रुपान्तरण
 २०८१ जेठ ६, आईतबार    

माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)मा विवाद चर्कियो


काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) विभाजित बनेको छ । संगठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ। उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी भाद्र ३० र ३१ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने जानकारी दिइएको हो ।संयोजक पवन कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई शसक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशिल बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको स्पष्ट पारे ।

पञ्चा सिंह नेतृत्वले विधानअनुरुपको कमिटी गठन गर्न नसकेको उनको आरोप थियो । पार्टी निर्णयको आधारमा अध्यक्षलाई मात्र घोषणा गर्न परेको बाध्यता त्यत्तिबेला आफुहरुले केही गर्न नसकेको उनले सुनाए । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ ।

उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको पनि गुनासो पोखे । उनले संगठनको इतिहासमा पहिलोपटक प्रहरी प्रशासनको उपस्थितिमा बैठक सञ्चालन गरिएको पनि आरोप लगाए । उनले सिंहको कमिटी सबै अवैधानिक हुन भनेर धेरै पटक भन्दै आएको पनि उल्लेख गरे । संगठनलाई पूनर्जिवित तुल्याउनको लागि नै विद्रोह गर्नु परेको उल्लेख गरे ।

यही असार १८ गते काठमाडौंमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ । घोषणासभाले २२औं राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाईएको छ ।

त्यस्तै, घोषणासभाले नेपालको राष्ट्रिय अस्मिताको रक्षा, जनजिविकाको समस्या समाधान, शैक्षिक बेथितिको अन्त्यका निम्ति सशक्त विद्यार्थी आन्दोलन गर्ने, , त्रिभुवन विश्वविद्यालय लगायतका सबै विश्वविद्यालयमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, २ महिने संगठन सुदृढीकरण अभियान पनि संचालन गर्ने निर्णय गरेको कार्कीले जनाए ।

उनले भने,‘हामी त सबैले पाएका पद त्याग्न तयार भएर संगठनलाई वास्तविक क्रान्तिकारी बनाउन र विद्यार्थीलाई संगठनको नेतृत्व सुम्पने वाचासमेत गरेका छौं ।’ उनले ती साना विद्यार्थीहरु सक्षम नहुँदासम्म मात्र आफुहरुले नेतृत्व लिनेपनि जानकारी दिए । उनले आफूले पद प्राप्तिको लागि विद्रोह नगरेको पनि जिकिर गरे । उनले भने,‘कतिपयले नेताहरुको उक्साहटमा लागेर विद्रोह गरेको भनेरपनि हामीमाथि आरोप लगाएका छन् । तर, ती आरोपमा कुनै सत्यता छैन् । हामीले कोही नेताको उक्साहटमा लागेर विद्रोह गरेको होईन ।’

उनले आफूहरु त संगठनको साधारण सदस्य भएर काम गर्न तयार रहेको सुनाए । उनले विद्यार्थी नेता भएर शैक्षिक क्षेत्रमा व्यापार गर्न नपाउने पनि धारणा राखे । सबैले सार्वजनिक शिक्षा सुधार गर्नपर्ने भन्दै उनले सबै नेताका छोराछोरी पनि सार्वजनिक स्कुलमा पढ्न पर्नेमा जोड दिए ।
त्यस्तै, संगठन सुदृढ गर्न सातवटै प्रदेशमा संयोजक पनि खटाएको छ । विद्यानबमोजिम तीन वटा आयोग गठन छ । जसअनुसार निर्वाचन आयोगमा भोला यादव र अनुसाशन आयोगमा विष्ण भट्टराई संयोजक रहेका छन् । भेलाले २८ वटा विभागहरु गठन गरेको छ ।

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न पनि उक्त समूहको माग छ । असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ । उक्त समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो ।

उनीहरुले यस विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र स्थायी कमिटीको सदस्यहरुसँग छलफल गरिसकेको र माग पूरा गर्न आग्रह गरेको जनाएका छन् । कार्कीले सोचेको जति विद्यार्थी आन्दोलनले आजसम्म उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै विद्यार्थीको हकहितको लागि काम गर्नुपर्ने अखिल (क्रान्तिकारी) आफ्नै संगठनभित्रको समस्यामा रुमलिएको गुनासो पोखेका छन् ।