जसपाका मागहरुबारे कांग्रेस सकरात्मक, आफ्नै दलभित्र भने लफडा - रुपान्तरण
 २०८१ बैशाख ११, मंगलबार    

जसपाका मागहरुबारे कांग्रेस सकरात्मक, आफ्नै दलभित्र भने लफडा


काठमाडौं । सत्ता समिकरणका लागि भएको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को छलफल सकारात्मक भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

‘हामीले आफ्नो तीनवटा मागहरू राखेका छौं,’ ठाकुरले भने, ‘बैठक सकारात्मक भएको छ ।’ उहाँले रेशम चौधरीको रिहाइ, गिरिजचन्द्र लालको प्रतिवेदन सार्वजनिक, मधेश र थरुहट आन्दोलनमा सहभागीलाई जेलमुक्त र संविधान संशोधनको मागको सम्बोधन हुनुपर्ने बताए ।

यस्तै सञ्चारकर्मीले अबको प्रधानमन्त्री तपाईं बन्नेकुरा चर्चामा आएको छ नि भनि सोधको प्रश्नमा ठाकुरले भने, ‘तपाईंहरूको मुखबाट सुन्न पाइयो, खुसी लाग्यो ।’

छलफलपछि नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्माले छलफल सकारात्मक भएको र विपक्षी दलहरूबीच सत्ता समीकरणमा एकता हुने सम्भावना बलियो बनेको बताए । फेरि पनि छलफल गर्ने सहमति दुई दलबीच भएको उनको भनाइ छ । शनिबारदेखि राजनीतिक परिस्थिति अलग हुनसक्ने प्रवक्ता शर्माको भनाइ छ ।

यता, सिंहदरबारमा बसेको जसपा संसदीय दलको बैठक दलको नेता चयन नगरी सकिएको छ । बैठकले दलको नेता छान्ने र दलको विधान पारित गर्ने भनिए पनि दुवै विषयमा सहमति नभएको हो । सत्ता सहकार्यका विषयमा भइरहेको पहलबारेमा भने दलहरूसँग खुला छलफल जारी राख्ने निर्णय भएको छ ।

हाल जसपाको संसदीय दलको नेतामा ठाकुरले दाबी गरिरहेका छन् । १० वैशाख २०७७ मध्यरातमा पार्टी एकता गर्दा भएको भनिएको मौखिक सहमति अनुसार दलको नेतामा राजेन्द्र महतोले समेत अडान राखिरहेका छन् ।

यस्तै उपेन्द्र यादवले समेत आफूलाई दलको नेताको रेसमा अघि सारिरहेका छन् । हाल नयाँ सत्ता गठबन्धनमा जसपा निर्णायक शक्तिका रूपमा देखिएको छ । यस कारण पनि जसपा आन्तरिक राजनीतिलाई दह्रो बनाएर सत्ताको यात्रामा तयार हुन अघि बढिरहेको छ ।